• १२ असार २०८१, बुधबार

दोलखामा अपराधिक घटनामा कमी

blog

जिल्ला प्रहरी कार्यालय दोलखा ।

सुजन काफ्ले
चरिकोट (दोलखा),भदौ ८ गते ।
एक वर्षको अवधिमा दोलखामा समग्र अपराराधिक घटनामा कमी आएको छ । आर्थिक वर्ष ०७७/०७८ को तुलनामा गएको एक वर्षमा अपराधिक घटनामा कमी भएको हो ।

अघिल्लो आर्थिक वर्षमा २०३ वटा मुद्दा दर्ता गरेको दोलखा प्रहरीले पछिल्लो एक वर्षमा १७८ वटा मुद्दा दर्ता गरेको थियो । अपहरण शरीर बन्धक, कुटपिट, इजलाससम्बन्धी कसुर, ठगीसम्बन्धी कसुर, लागूऔषध र जुवालगायतका शीर्षकमा कुनै पनि मुद्दा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख गंगा पौडेलले गएको एक वर्षमा जबरजस्ती करणीअन्तर्गत १४ वटा र जबरजस्तीकरणी उद्योगमा चार वटा मुद्दा दर्ता भएका बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणीमा १७ वटा र जबरजस्ती करणी उद्योगमा आठ वटा मुद्दा दर्ता भएका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा भवितव्य ज्यानसम्बन्धी मुद्दामा पनि गएको एक वर्षमा कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा ४० वटा मुद्दा दर्ता भएका थियो भने पछिल्लो एक वर्षमा ३५ वटा मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । 

पछिल्लो वर्षमा बाल विवाहसम्बन्धी कुनै पनि मुद्दा दर्ता भएका छैनन् ।  पछिल्लो एक वर्षमा जिल्ला प्रहरी कार्यालय दोलखाले जनचेतनामुलक विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । पछिल्लो समय प्रहरीको सक्रियता बढेसँगै जिल्लामा अपराधिक घटनामा कमी आएको छ ।

प्रहरीले पछिल्लो एक वर्षमा ११ वटा चोरीको मोटरसाइकलमा बरामद गरेर सवारी धनिलाई जिम्मा लगाएको थियो । विभिन्न मुद्दामा फरार रहेका केही प्रतिवादिहरुलाई समेत प्रहरीले पक्राउ गरी जिल्ला अदालत दोलखामा बुझाएको थियो ।