• ११ असोज २०८१, शुक्रबार

तीन महिनादेखि इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द

blog

इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर(इलाम), भदौ ८ गते  ।
उडान शुरु भएको छोटो समयमै इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द भएको छ । पर्याप्त यात्रुको चाप हुँदाहुँदै तारा एयरले उडान भर्न छोडेपछि उडान शुरु भएको ६ महिना नपुग्दै सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द भएको हो ।

गत फागुन ११ गतेदेखि तारा एयरले उक्त विमानस्थलमा साताको दुई दिन उडान भर्दै आएकोमा जेठ ६ गते यता उडान बन्द छ । ताराले धावनमार्ग भत्किएको र दुर्घटनाको कारण देखाउदै उडान बन्द गरेको हो । उद्घाटन भएको ६ महिना नहुँदै धावनमार्गको पूर्वतर्फको आधा भाग पहिरोले बगाएपछि सुरक्षाको कारण देखाएर ताराले उडान बन्द गरेको जनाएको छ । तर, ताराले उडान बन्दको कुनै औपचारिक जानकारी भने दिएको छैन । 

सात सय मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको धावनमार्गको पूर्वतर्फको तल्लो भाग नै बगेपछि विमानस्थलको निर्माणमा नै प्रश्न उठ्न थालेको छ । धावनमार्ग निर्माणको क्रममा लगाइएको ग्याबिन वालले माटोको भार थेग्न नसकेपछि विमानस्थल झनै जोखिममा परेको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र निर्वतमान पर्यटनमन्त्री प्रेम आलेले फागुन १ गते धावन मार्गको हतारोमा उद्घाटन गर्नुभएको थियो । उडान बन्द भएपछि इलामबाट अन्यत्र जाने यात्रुलाई समस्या भएको छ । तारा एयरले सातामा दुई दिन उडान गर्ने गरी इलाम नगरपालिकासँग सम्झौता गरे पनि एकलौटी रुपमा उडान बन्द गरिएको छ ।

उडान भएको अवधिमा इलाम नगरले करोडौं रुपियाँ व्ययभार समेत व्यहोरेको छ । इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले अन्य ठाउँमा तारा एयर दुर्घटनामा परेपछि जहाजको अभाव देखाएर एकलौटी रुपमा उडान बन्द गरेको जानकारी दिनुभयो । उहाँले चाडवाड नजिकिएको समयमा उडान बन्द हुँदा यात्रुलाई मार पर्ने भन्दै मन्त्रालयमा इलाम नगरपालिकाका प्रमुख केदार थापासहितको टोली डेलिगेसन गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तारा एयरको भर नभएपछि नेपाल एरयलाइन्सलाई उडान भर्न अनुरोध गरेका छौं ।’’ दुलालले प्रक्रियामा रहेकाले चाडै उडान शुरु हुने बताउनुभयो ।

अहिले उडान बन्द भएपछि सुकिलुम्बा विमानस्थल टिकटक बनाउने पार्क जस्तै बनेको छ । फुर्सदमा घुम्न गएकाहरुले विमानस्थलमा टिकटक बनाएर फर्कने गरेका छन् ।

विसं. २०५८ सालमा निर्माण प्रक्रिया शुरु भएको विमानस्थलमा २०७५ सालमा पहिलो पटक सफलतापूर्वक परीक्षण उडान भएको थियो । विमानस्थल निर्माणमा हालसम्म ३० करोड रुपियाँ खर्च भइसकेको छ । विमानस्थलमा घेराबारादेखि टर्मिलन भवन, यात्रु प्रतिक्षालय लगायतका संरचना बन्न भने बाँकी नै छ ।