• १३ साउन २०८१, आइतबार

राप्ती नदीमा नयाँ पुल निर्माण प्रक्रिया शुरु

blog

हाल राप्ती नदीमा रहेको निकै साँघुरो र छोटो पुल । यसै ठाउँमा अब नयाँ पुल बन्नेछ । तस्विर : सिराज खान

सिराज खान
नेपालगञ्ज, भदौ ८ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई नेपालगञ्जसँग जोड्न राप्ती नदीमा नयाँ पुल निर्माण प्रक्रिया शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको निर्देशनमा राप्ती नदीमा ७०० मिटर लामो र ११ मिटर फराकिलो नयाँ पुल निर्माण प्रक्रिया शुरु भएको हो ।

अहिलेको पुल निकै सानो, जिर्ण र साँघुरो हुँदा आवागमनमा समस्या हुने गरेकाले सिधनियाघाटस्थित राप्ती नदीमा लामो र फराकिलो पुल निर्माणको माग राप्तीपारीका जनताबाट वर्षौदेखि उठ्दै आएको थियो ।

जिीण, सानो र साँघुरो पुलका कारण राप्तीपारीका नरैनापुर र राप्तीसोनारीका जनतालाई पुल पार गर्न घण्टौँ लाममा बस्नुपर्ने बाध्यता छ ।  सो पुल निर्माणका लागि डिपिआर तयार भई एक अर्ब १७ करोडको लागतमा निर्माण गर्ने गरी बोलपत्र आह्वान भइसकेको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले सबैभन्दा दुर्गम मानिएको नरैनापुरका बासिन्दाका लागि पुल अति आवश्यक भएको बताउनुभयो । अध्यक्ष शाहले पुल निर्माण प्रक्रिया शुरु भएपछि सो गाउँपालिकामा खुशियाली छाएको छ ।

यस्तै, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले दुई दशकको प्रयासपछि राप्ती नदीमा लामो र फराकिलो नयाँ पुल बन्ने प्रक्रिया शुरु भएकोमा खुशी लागेको बताउनुभयो । यसबाट हजारौं जनतालाई प्रत्यक्ष लाभ मिल्ने उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेशसभाका सांसद कृष्ण केसीले पुल निर्माणका लागि आफूले वर्षौदेखि दौडधुप गर्दै आएको बताउनुभयो । राई मन्त्री हुनुभएपछि मात्रै आफ्नो दौडधुपले सार्थकता पाएको उहाँको भनाइ छ ।

डुडुवा कम्दीका राकेश मिश्रले साँघुरो पुलका कारण घण्टौ लाममा लाग्नुपर्ने बाध्यताको अन्त नयाँ पुलले गर्ने बताउनुभयो । यसबाट धेरै जनताले लाभ पाउने उहाँको प्रतिक्रिया छ ।

राप्ती नदीमा नयाँ फराकिलो पुल बन्ने थाहा पाएर सो क्षेत्रका जनता निकै नै खुशी भएको नरैनापुरका स्थानीय मकबुल खाँले बताउनुभयो ।