• १३ साउन २०८१, आइतबार

टीकापुर घटनाका सात वर्ष

राजनीतिक रूपमा समाधान गरिनुपर्नेमा सबै दल सहमत

blog

टीकापुर समाचारदाता

टीकापुर (कैलाली), भदौ ८ गते । टीकापुरमा हिंसात्मक घटना भएको सात वर्ष पूरा भएको दिन पारी टीकापुरमा विद्रोह दिवस मनाइएको छ। थारू कल्याणकारिणी सभा, थरुहट थारुवान राष्ट्रिय मुक्ति मोर्चा र थारू विद्यार्थी समाजको आयोजना भानुचोकमा र नागरिक उन्मुक्ति पार्टीको आयोजनामा रेशम चौधरीको फूलबारी रिसोर्टमा छुट्टै कार्यक्रम भएको छ। 

दुवै कार्यक्रममा टीकापुर घटनालाई राजनीतिक रूपमा सम्बोधन गरेर जेलबन्दीको रिहाइ हुनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश हुनुपर्ने, भदौ ८ गते थारूका घर–पसलमा आगजनी गर्नेलाई कारबाही हुनुपर्नेलगायतका माग अघि सारिएका छन्। 

थारू कल्याणकारिणी सभाको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले थारूको अधिकारका लागि गरिएको आन्दोलन भएकाले टीकापुर घटनालाई राजनीतिक रूपमा समाधान गर्न नेपाली कांगे्रसले निर्णय गरिसकेको र कांगे्रसकै अगुवाइमा भदौ ८ मा भएको आगजनीको क्षतिपूर्ति दिलाएको बताउनुभयो। मन्त्री रावलले संविधानले सबैलाई समान अधिकार दिएकाले सबै समान भएको र क्षमताका आधारमा सबैले स्थान पाउने भएकाले जातीय सद्भाव राखेर विकासमा लाग्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांगे्रसका केन्द्रीय सदस्य रामजनम चौधरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नेपबहादुर चौधरी, जनता समाजवादीका नेता होरिलाल चौधरीलगायतले ऐक्यबद्धता जनाउनुभएको छ। 

नागरिक उन्मुक्ति पार्टीले आयोजना गरेको कार्यक्रममा पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले थारू अधिकारका लागि थारू आन्दोलन अघि बढ्ने र जेलमा रहेका बन्दीलाई निःसर्त रिहाइ गर्नुपर्ने बताउनुभएको छ। सो जनप्रतिनिधिका तर्फबाट भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र राजनीतिक दलका टीकापुर नगरका प्रतिनिधिले कार्यक्रममा ऐक्यबद्धता जनाएका छन्।

२०७२ साल भदौ ७ गते थरुहट प्रदेश हुनुपर्ने माग गर्दै भएको प्रदर्शनमा झडप भएपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। भदौ ८ गते उत्तेजित समूहले थारूका घर–पसलमा आगजनी गरेको थियो भने टीकापुर घटनाका दोषीका रूपमा कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद रेशमलाल चौधरी र अन्य छ जना जेलमा हुनुहुन्छ।