• १३ साउन २०८१, आइतबार

बादी परिवारलाई लालपुर्जा

blog

एकिन्द्र तिमिल्सेना 

लम्की (कैलाली), भदौ ८ गते । कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरका एक सय २४ भूमिहीन बादी परिवारले घरबासका लागि धनीपुर्जा प्राप्त गरेका छन्। मङ्गलबार नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक कार्यक्रमबीच धनीपुर्जा वितरण गर्नुभएको हो। 

मन्त्री श्रेष्ठले २०२१ सालमा भूमिसुधार योजना लागू भएका बेला नाप्न छुटेका गाउँ ब्लकका जग्गादेखि यसअघिका आयोगले लालपुर्जा दिएका तर जग्गा नपाएकासम्मलाई यस पटकको अधिकारसम्पन्न आयोगबाट जग्गा नापी गरेर आउँदो एक वर्षमा पाँच लाख र दोस्रो वर्ष देशभरका सबै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिएर नेपालबाटै भूमिहीनको समस्या समाधान गरिने बताउनुभयो।

“पूर्वमा मुसहर र पश्चिममा बादी समुदायका प्रतिनिधिसँग प्रतिबद्धता जनाएअनुसार आफैँ उपस्थित भएकी छु,” मन्त्री श्रेष्ठले मङ्गलबार बल्चौरमा आयोजित कार्यक्रममा भन्नुभयो, “संविधानमा लिपिबद्ध भएको भूमिहीनलाई घरबास र आवास दिने व्यवस्थाअनुसार आर्थिक, सामाजिक रूपले पिँधमा रहेको मुसहर, बादी, चमार, डोमलगायतका समुदायलाई प्राथमिकतामा राखेर जग्गा वितरणको काम भइरहेको छ।” 

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले समाजमा पछि परेका भूमिहीन बादी समुदायले घरबासको लालपुर्जा पाउनु समुदायले आत्मसम्मानका रूपमा लिनुपर्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले सबै नागरिकलाई जग्गाको स्वामित्व हुनुपर्छ भन्ने मान्यताअनुसार लालपुर्जा पाउनु बादी समुदायको सङ्घर्षको उपलब्धि पनि भएको बताउँदै अघिल्लो आयोग खारेज भएपछि भूमिहीनले जग्गा पाउँदैनन् कि भन्ने भ्रम अब सकिएको बताउनुभयो।

भूमि आयोगका कैलाली अध्यक्ष यज्ञराज उपाध्यायले लम्कीचुहामा १० हजार कित्ता जग्गा नापी भइसकेको, जिल्लाका पाँच पालिकामा लालपुर्जा वितरण गर्ने तयारी भइरहेको र आयोगमा एक लाख २५ हजारजति व्यक्तिका निवेदन परेको जानकारी दिनुभयो। 

लालपुर्जा पाएका बादी समुदाय खुसी भएका छन्। ५५ वर्षकी मनकुमारी बादीले लालपुर्जा पाएपछि बाबुआमाले दाइजो दिएजस्तो लागेको बताउनुभयो। बादी अगुवा रमा बादीले बस्तीमा सरकारको जनता आवास कार्यक्रमबाट १०३ वटा घर बनेका र बाँकी रहेकाले पनि छिट्टै लालपुर्जा र घर पाउने आशा रहेको बताउनुभयो।

पूर्व–पश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिँचाइको मूल नहरको उत्तरमा बसोवास गरिरहेका १७७ बादी परिवारमध्ये १२४ परिवारको हातमा मङ्गलबार लालपुर्जा पुगेको छ भने केही परिवारका घरमुली बाहिर भएकाले पछि हस्तान्तरण गरिने भएको छ। लालपुर्जा पाउनेले दस धुरदेखि एक कठ्ठासम्म जमिन पाएका छन्। 

बादी आन्दोलनको विजय

राष्ट्रिय बादी अधिकार सङ्घर्ष समितिकी अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी बादीले बादी अधिकारका लागि गरिएको आन्दोलनले विजय प्राप्त गरेको दिनका रूपमा लिएको बताउनुभएको छ। मङ्गलबार लम्कीचुहाको बल्चौरमा बसेको भूमिहीन बादीलाई लालपुर्जा वितरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

स्थायी बसोवासका लागि लालपुर्जा पाएपछि दलितभित्रको पनि दलित, घुमन्ते–फिरन्ते बादी समुदायको आत्मसम्मान बढेको बताउनुभयो। भूमिहीनलाई घरबास, आवास र रोजगारीको माग राखी बादी समुदायले २०६४ सालमा गरेको सिंहदरबारकेन्द्रित आन्दोलन उमादेवीले नेतृत्व गर्नुभएको थियो। 

नेपाली कांगे्रसका तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य रहनुभएकी उमादेवीले हालका मन्त्री शशी श्रेष्ठ, कांगे्रस नेत्री आरजु राणा, अभियन्ता रेणु राजभण्डारी र पत्रकारहरूले साथ दिएकाले सरकार वार्ता गर्न तयार भएको स्मरण गर्नुभयो। बल्चौरमा बसेका बादी परिवारलाई हटाउन खोज्दा गरिएको हारगुहार सुनेर सघाउनुभएको भन्दै तत्कालीन वनमन्त्री मातृकाप्रसाद यादवलाई धन्यवाद दिँदै देशैभरका भूमिहीन बादीलाई प्राथमिकतामा राखेर जग्गा दिन आयोगसँग माग गर्नुभयो।