• ९ मंसिर २०८१, आइतबार

मल ‘ई–बिडिङ’ प्रणालीबाट बिक्री हुने

blog

काठमाडौँ, भदौ ८ गते ।  रासायनिक मल बिक्री वितरणलाई छिटो छरितो र पारदर्शी बनाउन ‘ई बिडिङ’ प्रणाली लागू गरिएको छ । देशभरका मल बिक्री वितरण गर्ने डिपोहरूले आफू खुसी मल बिक्री गरेको, आफ्ना नजिकलाई मात्र दिएको, मल लुकाएको जस्ता आरोप लाग्ने गरेको छ । यो प्रणाली लागू भएपछि ती सबै आरोपबाट मुक्ति पाउने विश्वास कृषि सामग्री कम्पनी लिमिटेडले गरेको छ । कतिपय डिपोमा मल हुँदा हुँदै मल नभएको भनि किसानलाई ढाँट्ने गरेको गुनासो आउने गरेको छ । अब कुन ठाउँमा कति मल छ, कति बिक्री भइसक्यो, कुन सहकारीले कति लग्यो जस्ता कुरा जहाँबाट पनि हेर्न सकिने गरी प्रणाली निर्माण भएको हो । 

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले रासायनिक मल बिक्री वितरणका लागि डिजिटल वितरण प्रणाली लागू गरिएको बताउनुभयो । यो प्रणाली लागू भएपछि किसानले मल खरिद गर्दा ठगिने समस्याबाट मुक्त हुनुका साथै मलमा हुने अनियमितता तथा चुहावट पनि रोकिने उहाँले बताउनुभयो । 

कृषि सामग्री कम्पनीका सातवटै प्रदेशका प्रादेशिक कार्यालय र गोदाम तथा डिपोमा लागू गरिएको उहाँले जानकारी दिनुभयो । 

कम्पनीबाट कुन सहकारीले कति मल लगे, कुन स्थानीय तह वा पालिकामा कति मल गयो, कति बाँकी छ लगायतका विवरण जहाँबाट पनि एक साथ हेर्न सकिने गरी यो प्रणालीमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । हरेक ठाउँको तथ्याङ्क सफ्टवेयरमार्फत अध्यावधिक गरिने बताउँदै प्रमुख कार्कीले त्यसको नियन्त्रण तथा अनुगमन केन्द्रले गर्ने जानकारी दिनुभयो । जुन डिपो जहाँबाट जति मल बिक्री गरे पनि दिनदिनै सो प्रणालीमार्फत अपडेट गर्नुपर्ने हुन्छ ।