• १३ साउन २०८१, आइतबार

कभर्ड हल निर्माणमा म्याद सकियो, काम सकिएन

blog

चरीकोट समाचारदाता

चरीकोट (दोलखा), भदौ ७ गते । भीमेश्वर नगरपालिकाले निर्माण सुरु गरेको कभर्ड हल दुई पटक म्याद थप गर्दासमेत निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढ्न सकेको छैन। विभिन्न बहाना बनाउँदै निर्माण कम्पनी श्यामसुन्दर अभिषा जेभीले काम नगर्दा कभर्ड हल समयमा निर्माण पूरा हुन नसकेको हो।

छ करोड ५४ लाख ५४ हजार रुपियाँको लागतमा एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ साल चैत १ गते ठेक्का सम्झौता गरिएको थियो। कभर्ड हल तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि पहिलो पटक गत पुस मसान्तसम्मका लागि म्याद थपिएको भौतिक पूर्वाधार तथा प्राविधिक शाखा प्रमुख सुरेश राउतले बताउनुभयो। 

थपिएको समयमा समेत निर्माण सम्पन्न नभएपछि आगामी चैत मसान्तसम्मलाई दोस्रो पटक म्याद थप गरिएको थियो। म्याद थपपछि निर्माण कम्पनीले काम सुरु गरे पनि निर्माण कार्य सन्तोषजनक नरहेको शाखा प्रमुख राउतले बताउनुभयो। निर्माण कम्पनीले सामान्य प्लास्टरलगायतको काम सुरु गरे पनि मुख्य छानाको काम सुरु नभएको र हालसम्म निर्माणको काम ७० प्रतिशत मात्र काम सम्पन्न भएको शाखा प्रमुख राउतको भनाइ छ। 

एक हजार ११९ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन कभर्ड हल पाँच सय दर्शक क्षमताको हुने भीमेश्वर नगरपालिकाले जानकारी दिएको छ। कभर्ड हलभित्र ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्टलगायतका इन्डोर खेलहरू सञ्चालन गर्ने योजनाका साथ कभर्ड हल निर्माण सुरु गरिएको जनाइएको छ।