• ११ असोज २०८१, शुक्रबार

विकास निर्माणमा राजनीति गर्नु हुँदैन : परराष्ट्रमन्त्री डा. खड्का

blog

उदयपुरको खयरवनी सिखरमाडी जोड्ने गिदेरी खोलापुलको रिवन काटेर शनिबार संयुक्त रुपमा उद्घाटन गर्नु हुँदै परराष्ट्र मन्त्री डा.नारायण खड्का र प्रदेश नम्बर १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की। तस्बिर : भक्तिविलास पोखरेल।

गाईघाट, भदौ ४ गते। परराष्ट्र मन्त्री डा.नारायण खड्काले वर्तमान सरकार गठन भएपछि नेपालको अन्तराष्ट्रिय छवि धेरै सुध्रिएको र नेपालमा लगानी गर्न अन्तराष्ट्रिय निकाय लालायत हुन थालेको बताउनुभएको छ। 

वर्तमान सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गराएको र अब मङ्सिमा प्रदेश र संघीय संसदको निर्वाचनसमेत सम्पन्न गर्न अहिले जुटिरहेको उहाँको भनाइ छ । 

परराष्ट्र मन्त्री डा खड्काले विकास निर्माणका काममा दलीय राजनीतिक खिचलो हुनु नहुने बताउनुभएको छ। विकासको प्रतिफल उपभोग गर्ने आम जनता नै हुने भएकोले योजना एउटाले ल्याएको वा अर्काेले भन्ने भन्दा पनि विकास निर्माणमा सबै पक्षको सकारात्मक सहयोगको खाँचो रहेको बताउनुभयो।

उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ५ स्थित गिदेरी खोलाको नवनिर्मित मोटरेवल पक्की पुलको शनिबार उद्घाटन गर्नुहुँदै परराष्ट्रमन्त्री खड्काले यस्तो बताउनुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले आफूहरु बोल्ने भन्दा काम गरेर देखाउने बताउनुभयो। मन्त्री कार्कीले बेलका नगरपालिका भित्र धेरै काम गर्न बाँकी रहेकोले आफ्नो मन्त्रालयमार्फत् हुने सबै खाले योजनामा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ। 

अन्तर पालिका जोड्ने सडक अन्तर्गत चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ३ बसाहा हुँदै बेलाका नगरपालिकाको शिखरमाडी, पञ्चमुरे, खयरबनी, झोरपट्टा जोड्ने सडकमा पर्ने गिदेरी खोलामा प्रदेश सरकारको सडक पूर्वधार तथा शहरी विकास मन्त्रालयमार्फत् १५ करोड पाँचलाख लागतमा सो  मोटरेबल पक्कीपुल  निर्माण सम्पन्न भएको हो।

२०७६ साल असोज २७ गते निर्माणको सम्झौता भएको उक्त पुलको २०७९ भदौ २८ गते काम सम्पन्न गर्नु पर्ने भए पनि निर्माण कम्पनीले समयअवधि अघि नै काम सम्पन्न गरेको हो। सो अवसरमा गिदेरी खोला पुल निर्माणमा सहयोग पुर्याउदै जाग्गा उपलब्ध गराउने स्थानियलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो।