• १८ पुस २०८१, बिहिबार

अवसरको सदुपयोग गर्ने प्रशिक्षक हुमागाईंको प्रतिबद्धता

blog

प्रशिक्षक प्रदीप हुमागाईं । तस्बिर : एन्फा

काठमाडौं, भदौ २ गते । नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले पाएको अवसरलाई आफुले भरपुर सदुपयोग गर्ने बताउनु भएको छ । अमेरिकामा बस्दै आउनु भएका हुमागाईंलाई एन्फाले असोज ११ गते हुन लागेको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलका लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

बुधबार अमेरिकाबाट आउनुभएका हुमागाईंले बिहिबार देखिनै नेपाली टोलीको प्रशिक्षण सम्हालेको पनि बताउनुभयो । ‘मैले आजैदेखि टोलीलाई सैद्धान्तिक प्रशिक्षण सुरु गरेको छु । भोलीबाट मैदानमा तयारी सुरु हुनेछ । एन्फाले दिएको अवसरलाई भरपुर सदुपयोग गर्नेछु । मैत्री खेललाई हामीले मैत्रीपूर्ण रुपमा लिनु हुन्न । हाम्रो एउटै लक्ष्य जित हो,’ हुमागाईंले भन्नुभयो । 

एन्फाले आफुलाई विश्वास गरेर जिम्मेवारी दिएकोले यसलाई दबाब नभई अवसरमा रुपमा लिएको पनि हुमागाईंले बताउनुभयो । ‘फुटबलको विकासमा सबै पक्षको सहयोग आवश्यक छ । अमेरिकामा विभिन्न अवसर भएपछि राष्ट्रियता सम्झेर नेपाल आएको हुँ । मलाई सक्षम देखेर नै एन्फाले जिम्मेवारी दिएको हो । म जुनसुकै बेला नेपालको फुटबलमा सहयोग गर्न तयार छु । यो मेरोलागि ठूलो अवसर हो,’ हुमागाईंले भन्नुभयो । 

टोलीका मुख्य प्रशिक्षम अब्दुल्लाह अलमुताईरी विदामा रहेका कारण एन्फाले उहाँलाई कार्यवाहक प्रशिक्षक बनाएको हो । हुमागाईं एएफसी ‘ए’ लाईसेन्स प्राप्त प्रशिक्षक हुनुहुन्छ । सन् २०२४ सम्म नेपालसँग सम्झौता गर्नु भएका कुवेती नागरिक अलमुताईरी अहिले विदामा बस्नु भएको छ । पछिल्लो समय राष्ट्रिय टोलीका १० जना सिनियर खेलाडीले असन्तुष्टी जनाएपछि अलमुताईरी थप विवादमा पर्नु भएको छ । 

प्रशिक्षक हुमागाईंले मैत्रीपूर्ण खेलमा लागि सिनियरसहित ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनु भएको छ । नेपाली टोलीको औपचारिक प्रशिक्षण शुक्रबारदेखि आर्मी मैदानमा सुरु हुनेछ । 

यसैगरी एन्फाका नवनियुक्त प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताईरी स्वास्थ्यको कारण उपस्थित नहुने भएकाले हुमागाईंलाई नियुक्त गरिएको बताउनुभयो । अलमुताईरीको विषयमा निर्णय गर्न एन्फाले महासचिव किरण राईलाई जिम्मेवारी दिएको पनि शाहले जानकारी दिनुभयो ।