• १३ साउन २०८१, आइतबार

निर्वाचन लक्षित सुरक्षाप्रति नेपाल प्रहरी गम्भीर : प्रहरी महानिरीक्षक सिंह

blog

पत्रकार भेटघाटमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह । तस्वीरः ललिता साह

ललिता साह

वोदेवसाईन (सप्तरी), भदौ १ गते । मंसिर ४ मा हुने निर्वाचनलक्षित सुरक्षा अवस्थाप्रति नेपाल प्रहरीले चासो रहेको र त्यसका लागि राम्रो प्रबन्ध मिलाइने नेपाल प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बताउनुभएको छ । चुनाव घोषणा भइसके पश्चात जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाअर्चनाका लागि बुधवार सप्तरी आउनुभएका महानिरीक्षक सिंहले जिल्लाका सञ्चारकर्मीहरुसँग औपचारिक भेटघाटको क्रममा सो कुरा बताउनुभएको हो । चुनावलक्षित सुरक्षा व्यवस्थाप्रति नेपाल प्रहरी गम्भीर रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “मधेशका जिल्लामा सीमामा हुनेगरेका अवैध तस्करीलाई नियन्त्रण गर्ने नेपाल प्रहरीको पहिलो उद्देश्य हो । त्यसैगरी प्रहरीको संगठनात्मक सुधारमा ध्यान दिएका छौं ।” प्रहरीसँग सम्बन्धित वा सामाजिक अपराधका घटनाहरुबारे जिल्लामा रहेका साना–ठूला गुनासोहरु आफूसमक्ष पुर्याइ सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

महानिरीक्षक सिंहले आग्रह गर्नुभयो, “राज्यले पत्रकारलाई त्यतिकै चौथो अङ्ग भनेको होइन, पत्रकार समाजको हरेक कुनाकाप्चामा चारैतिर आँखा दौडाएर समाजको समृद्धितिर आफ्ना उर्जा खर्च गर्नेभएकाले प्रहरी र पत्रकारको परस्पर सम्बन्ध आवश्यक हुन्छ ।” 

भेटघाटमा मधेस प्रदेश प्रहरी प्रमुख मसाउद आलम खाँ, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहनुभएका बरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्की समेतको उपस्थिति रहेको थियो ।