• १९ असार २०८१, बुधबार

तटबन्ध बगाउँदा मेलम्चीवासी त्रासमा

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, भदौ १ गते । मेलम्ची नदी नियन्त्रण, नदीलाई पुरानै धारमा ल्याउन र मेलम्ची बस्ती जोगाउनका लागि तीनै तहका सरकारले विनियोजन गरेको बजेटबाट मेलम्ची नदी कोरिडोरमा निर्माण गरिएको तटबन्ध बाढीले बगाएर क्षति पु-याएको छ।

तटबन्ध निर्माण गरेकै वर्ष वर्षायाममा बाढीले बगाएर तटबन्धलाई क्षति गरेको हो। आठ करोड रुपियाँभन्दा बढीको लागतमा निर्माण गरेको तटबन्धमा क्षति पुगेपछि अहिले मेलम्चीबासी बाढीका कारण पुनः त्रासमा छन्। तटबन्ध बगाएपछि मेलम्ची बजार, तालामाराङ, चनौटे, ग्याल्थुम, बाहुनेपाटीलगायत तल्लो तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम बस्नुपरेको बाढीपीडित सागरकुमार श्रेष्ठले बताउनुभयो। बाढीको असर दोलालघाटमा समेत परेको छ। बाढीले निरन्तर गेग्य्रान ल्याएर मेलम्ची दोभान क्षेत्रमा थुपारेपछि अहिले मेलम्ची बजारक्षेत्र, पुल, सडक, खेतीयोग्य जमिन, क्रसर उद्योगलगायतका संरचना जोखिममा छन्।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले अहिले पनि मेलम्ची नदी नियन्त्रणको काम भइरहेको भए पनि बाढीले असर गरिरहेको जानकारी दिनुभयो। उता सरकारले स्थानान्तरण कार्य अघि नबढाएपछि बाध्य भएर बाढीले पुरिएका घर खोतल्दै पीडितहरू पुरानै थातथलोमा बस्न थालेका छन्। भूगर्भविद्हरूले मेलम्ची नदीआसपासको तटीय क्षेत्रमा बसोबास नगर्न सुझाव दिएका थिए तर सरकारले सुरक्षित स्थानान्तरण नगराउँदा उनीहरू बाढीग्रस्त क्षेत्रमा बस्न बाध्य भएका हुन्।