• १९ असार २०८१, बुधबार

नेपाल प्रहरी प्रविधिमैत्री बन्नु पर्छ : मन्त्री साह

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, साउन ३१ गते । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आधुनिक युगमा परम्परागत अनुसन्धानले काम नचल्ने भन्दै प्रदेशको नेपाल प्रहरी प्रविधिमैत्री बन्नुपर्ने बताउनु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा मंगलबार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्घाटनशत्रमा उहाँले सो कुरा बताउनुभयो ।

२१ औं शताब्दीमा सुचना प्रविधिले लामो फड्को मारेको समयमा नेपाल प्रहरीले पनि सोहीअनुरुप आफुलाई अपडेट गरी नयाँ तरिकाबाट अनुसन्धान गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

मधेश प्रदेशमा अपराध न्यूनिकरण गर्न प्रदेश सरकारले नेपाल प्रहरीलाई विभिन्नखालका सहयोग गरिरहेको बताउनुभयो । 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मधेश प्रदेशमा घरेलु हिंसा र जघन्य अपराधको घटना बढी हुनेगरेको भन्दै त्यस्ता घटनामा सुक्ष्म तरिकाले अनुसन्धान गर्न आफ्ना मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । 

अपराध न्यूनिकरणका लागि अनुसन्धान, अभियोजन र न्याय निरुपण महत्वपूर्ण पाटो भएको भन्दै साइबर अपराधको दर्ता प्रक्रिया प्रदेशस्तरमै हुनु पर्नेमा जोड दिनुभयो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र भयरहित तरिकाले मतदाताले मताधिकार प्रयोग गर्ने किसिमको वातावरण निर्माण गर्ने जिमेवारी नेपाल प्रहरीको रहेको उहाँको भनाइ छ । 

मधेश प्रदेशका मुख्य न्यायाधिबक्ता दिपेन्द्र झाले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन फोरेन्सिक ल्याब प्रदेशमा स्थापनका लागि प्रदेश सरकारलाई सुझाब दिनु भयो । केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराधको प्रकृति र प्रबृत्ति दुवै परिवर्तन भएको भन्दै ८० प्रतिशतभन्दा बढी अपराध आफन्तजनबाट हुनेगरेको बताउनुभयो । 

मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख मसऊद आलम खाँ, उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिबक्ता विवेक ुमार बराल लगायतले अपराध अनुसन्धानका विषयमा धारणा राख्नुभयो ।