• १३ साउन २०८१, आइतबार

एघार वर्षदेखि पुल अलपत्र

blog

धनगढी समाचारदाता

धनगढी, साउन ३१ गते । हुलाकी राजमार्गको थेकीपुरमा ११ वर्षअघि पुल निर्माण थालिए पनि अझै पूरा हुन सकेको छैन। भजनी नगरपालिका –३ को थेकीपुरमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो। पुल निर्माण गर्ने कम्पनीका ठेकेदार भागेपछि पुल निर्माण अलपत्र परेको हो। 

चार करोड ४३ लाख रुपियाँमा साल्पा/शेर्पा–लामा–बिरुवाले संयुक्त रूपमा सो पुल निर्माणको ठेक्का पाएको थियो। ३० महिना समयावधि रहेको सो पुलको म्याद पटक–पटक थप गर्दा पनि नबनाएपछि हुलाकी राजमार्ग आयोजनाले ठेकेदारसँग ठेक्का तोड्ने तयारी थालेको छ। हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर पदम मडैका अनुसार अब पुरानो ठेक्का तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम सम्पन्न गरिनेछ। 

दशक लामो समय भइसक्दा पनि पुल निर्माण कार्य पूरा नभएपछि स्थानीयसहित जनप्रतिनिधिमा पनि नैराश्यता छाएको छ। कान्द्रा नदीमा पुल नहुँदा स्थानीयले धेरै दुःख पाएको भजनी नगरपालिका–३ का अध्यक्ष विक्रम चौधरीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “पुल नबनेपछि जनता निकै दुःखकष्ट गरेर डुङ्गामार्फत नदी तर्न बाध्य छन्।”

पुलको काम पूरा नभएपछि करिब दुई/तीन किलोमिटर दूरीको फरकमा ठेकेदारले दुईवटा घाट ठेक्का लिएर डुङ्गामार्फत मान्छे तार्दै आएका छन्। एक वर्षका लागि एक लाख ५१ हजार पाँच सय रुपियाँमा ठेक्का लिएर करमदेव घाटमा डुङ्गा सञ्चालन गर्दै आएको लोकबहादुर कुमालले जानकारी दिनुभयो। उहाँले आफूसहित पाँच जना मिलेर घाट ठेक्का लिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले यही असारबाट ठेक्का पाएका हौँ। आगामी असार मसान्तमा हाम्रो ठेक्का अवधि सकिन्छ।” 

नदीमा सामान्य पानी भएको बेला मान्छेसहित मोटरसाइकल डुङ्गामार्फत तारेबापत ४० रुपियाँ शुल्क लिइने गरिएको छ। यदि बाइकमा तीन जना बसेका छन् भने ५० रुपियाँ शुल्क लिने गरिन्छ। नदीमा ठूलो बाढी भएमा एक सय रुपियाँसम्म शुल्क लिने गरेको जनाइएको छ। विद्यार्थी, पोसाकमा रहेका कर्मचारीको भने शुल्क लिइने गरेको छैन। बढी जोखिम देखिएको बेला डुङ्गा सञ्चालन नगरिने कुमालले बताउनुभयो।

भजनी नगरपालिकाकै लालबोझी घाटमा भने अर्को ठेकेदारमार्फत डुङ्गा सञ्चालनको कार्य भइरहेको छ। पुल नबन्दा भजनीवासी मात्रै हैन हुलाकी राजमार्ग भएर हिँड्ने जोकोहीले पनि सास्ती खेप्नुपरेको छ। सो मार्ग भएर कान्द्रा नदी वारपार गरी गन्तव्यतर्फ जान खोजेका सबैले अहिले डुङ्गामार्फत नदी नतरी सुक्खै छैन।