• १९ असार २०८१, बुधबार

बेचनको सालिक बेवारिसे

blog

लहान समाचारदाता

लहान, साउन ३१ गते । लहान नगरपालिका–३, अस्पताल चोकमा रहेको युवा नेता बेचन यादवको सालिक चिन्नै नसकिने गरी कुरूप देखिन थालेको छ। सालिकको संरक्षण हुनुपर्ने माग स्थानीयले गर्दै आइरहेका छन्। 

२०६४ सालमा अस्पताल चोकस्थित आफ्नै ‘सन्तोष लज’ बाट अपहरणको शैलीमा चोकदेखि दक्षिण रहेको झाडीमा लगेर अज्ञात समूहले यादवको हत्या गरेको थियो। हत्यारालाई कारबाहीको माग गर्दै लहानमा प्रदर्शन भएको थियो। उहाँको तेह्रौं दिनको पुण्यतिथिमा लहान भगवानपुर जाने सडकमा रहेको पार्कमा नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादव, पूर्वमन्त्री राजलाल यादव र गोपाल सेवा समितिको संरक्षक हरिनारायण यादवको उपस्थितिमा शोक सभा आयोजना गरी यादवको सालिक स्थापित गरिएको थियो। 

“सालिक राखेको केही दिनमा नै राति सालिकमा आगो लगाई कुरूप बनाइयो। “त्यो कुरूप सालिक पार्कबाट हटाइदिनुपर्छ या उहाँको अनुहार देखिने गरी अर्को सालिक पुनः राखिदिनुपर्छ,” लहान–३ का स्थानीयले भन्नुभयो। 

नेपाली कांग्रेसबाट हाल लहान–१९ साबिक सोनमती गाउँ विकास समिति अध्यक्षमा २०५४ सालमा निर्वाचित बेचन यादव नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत हुनुभएको थियो।  

बेचन यादवको न हत्यारा पत्ता लाग्यो न सालिकको संरक्षण नै। यस्तो हुँदा पार्टीमा निष्ठापूर्वक लाग्नेहरूले सम्मान पाउला त भन्ने प्रश्न उठिरहेको नेपाली कांग्रेसका समर्थकहरू बताउँछन्।  “हत्याको आरोपमा समातिएका मुक्त भए। न त नेपाली कांग्रेसले उहाँको स्मृति दिवस मनाउँछ न सालिकको संरक्षण नै गर्न सकेको छ,” लहान–१९ का पूर्ववडा सदस्य घुरन यादवले भन्नुभयो, “अहिले लहान नगरपालिकामा नेपाली कांग्रेसको बहुमत रहेकाले बेचन यादवको सालिकको संरक्षण गरियोस्।”