• १८ असार २०८१, मङ्गलबार

परीक्षा दिन आउने परीक्षार्थीलाई बस्ने समस्या

blog

परीक्षार्थीलाई व्यवस्थापन गर्दै कपिलबस्तु नगरपालिकाको टोली । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा, साउन २८ गते । शिक्षकको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि परीक्षा दिन कपिलवस्तु आएका परीक्षार्थीलाई कपिलवस्तुमा बास बस्न समस्या भएको छ । विभिन्न जिल्लाबाट लाइसेन्स परीक्षा दिन आएका अधिकांश परीक्षार्थीले सो समस्या भोग्नुपरेको हो । 

शिक्षक सेवा आयोगको व्यवस्थापकीय लापरबाहीका कारण परीक्षार्थीलाई सास्ती भोग्नुपरेको पीडितको गुनासो छ । आवेदन दिएको जिल्लामा परीक्षा केन्द्र तोकिएमा सहज हुने सन्धिखर्क नगरपालिका १ का कल्पना भुसालले बताउनुभयो । उहाँले भन्नुभयो “अर्घाखाँचीबाट आयों, होटल नपाएर महुरी होमको एउटा कोठामा ९ जना बस्नुप¥यो, राती पढ्न पनि समस्या भयो ।” 

उहाँहरुजस्तै अन्य जिल्लाबाट आएकाहरुलाई पनि त्यस्तै सास्ती भएको पीडितको भनाइ छ । कपिलवस्तुमा करिब सात सय  होटल दर्ता रहे पनि बासका लागि करिब १ सय ५० वटा रहेको होटल व्यवसायी सङ्घका अध्यक्ष गोपालबहादुर खत्रीले बताउनुभयो । होटलको क्षमता करिब ३ देखि ४ सय जनालाई राख्नसक्ने मात्र हो अध्यक्ष खत्रीले बताउनुभयो । 

अधिकारकर्मी रवि ठाकुरले आगामी बर्षदेखि सरकारले शिक्षक लाइसेन्सको परीक्षा आबेदन दिएको जिल्लामै सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिनुभयो । कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलका अनुसार लाइसेन्स परीक्षा दिन आएका परीक्षार्थी अलपत्र परेपछि कपिलबस्तु नगरपालिकाको तल्लो र माथिल्लो हलमा बस्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै बुद्धभूमि नगरपालिकाले सम्बन्धित केन्द्रसम्म परीक्षा दिन आएका परीक्षार्थीलाई बासको व्यवस्था गरेको नगरप्रमुख केशबकुमार श्रेष्ठले बताउनुभयो । 

निम्न माध्यमिक विद्यालयको लाइसेन्सका लागि कपिलवस्तु नगरपालिका, बाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिका गरी ४२ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले बताउनुभयो । 

लुम्बिनी प्रदेशमा आवेदन दिएका परीक्षार्थीमध्ये १० हजार ७ सय १० जनाको केन्द्र कपिलवस्तुमा तोकिएको एकाइ प्रमुख घिमिरेले बताउनुभयो । परीक्षा दिन लुम्बिनी प्रदेशका ८ भन्दा बढी जिल्लाका परीक्षार्थी एक दिनअघि यहाँ आइपुगेका हुन् । एउटा केन्द्रमा २ सय ५५ का दरले परीक्षार्थी सहभागी भएको उहाँले बताउनुभयो ।