• १३ साउन २०८१, आइतबार

विकट गाउँमा चिटिक्क घर

blog

जनार्जन खत्री

सर्लाही, साउन २६ गते । भौगोलिक रूपमा विकट मानिने सर्लाहीको उत्तरी चुरे भेगमा पछिल्लो समय चिटिक्क परेका घर निर्माण हुन थालेका छन्। आधुनिकताले गाउँसम्म छुन थालेपछि स्थानीयको रहनसहन र बसाइँमा निकै परिवर्तन आउन थालेको छ। केही वर्षअघिसम्म स–साना झुपडी मात्रै देखिने चुरे भेगमा अहिले भने धमाधम चिटिक्क परेका घर बन्न थालेका हुन्।

चुरे भेगसँग जोडिने जिल्लाको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाका डाँडा–पाखामा बस्तीमा दर्जनौँ पक्की घरसमेत बनिसकेका छन्। “विगत दुई/चार वर्षभित्र यहाँको अवस्था धेरै नै फेरिएको छ,” चुरे भेगस्थित लालबन्दी नगरपालिका–१५, माथिल्लो देउरालीका नरहरि रायले भन्नुभयो, “धेरैले पक्की घर बनाइसके, पक्की नहुनेले पनि टायलको छानो हालेर काठ पातकै चिटिक्क परेका घर बनाइरहेका छन्।”

चुरे भेगमा अधिकांश घरबाट एक वा एकभन्दा बढी सदस्य वैदेशिक रोजगारमा गएका छन्। वैदेशिक रोजगारीबाट भित्रिएको विप्रेषण (रेमिट्यान्स) बाटै गाउँमा परिवर्तन आएको रायले बताउनुभयो। माथिल्लो देउराली नजिकको गाउँ ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा पनि अहिले चिटिक्क परेका घर धेरै बनिसके। “आयआर्जन हुँदै नभएका र असहाय परिवारबाहेक अधिकांशको पक्की र कच्चीमा पनि स्तरीय घर बनेका छन्, विदेशको कमाइले गाउँमा ठूलो परिवर्तन नै ल्याएको छ,” कालिन्जोरका स्थानीय काजिमान दोङले भन्नुभयो। 

भरपर्दो घर बन्न थालेपछि स्थानीयलाई हावाहुरी चल्दा डर कम भएको छ। वर्षाको समयमा धेरैको घरमा पानी चुहिने समस्याले गर्दा छरछिमेकको घरमा गएर ओत लाग्नुपर्ने बाध्यता अहिले आएर अन्त्य भएको स्थानीय बताउँछन्। हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङले केही वर्षको अन्तरालमा गाउँघरको अवस्था निकै फेरिएको सुनाउनुभयो। गाउँमा नयाँ–नयाँ घर बनिरहेका र स्थानीयको चेतनास्तरमा समेत वृद्धि हुँदै गएको वडाध्यक्ष घिसिङले बताउनुभयो। “नयाँ घर थपिँदै जाँदा मौलिक र पुराना घर पनि बाँकी छन्, जसको आम्दानी नै छैन। उनीहरू त पुरानै घरमा छन्,” उहाँले भन्नुभयो। 

घर निर्माणका लागि जिल्लाको लालबन्दी, बयलवास, हरिवनलगायतका बजारबाट ग्रामीण भेगमा दैनिक ठूलो परिमाणमा निर्माण सामग्री ढुवानी भइरहेका हार्डवेयर पसल सञ्चालकले बताए। नजिकै हरियाली जङ्गल र स्वच्छ वातावरण रहेकाले चुरे भेगमा बसोबास गर्न आनन्द पनि रहेको स्थानीय बताउँछन्।