• ९ मंसिर २०८१, आइतबार

छोरीसँग प्रेम गर्नेलाई शिक्षकले कुटे

blog

दिवाकर पोखरेल

देउखुरी, साउन २५ गते । दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर एक जना शिक्षकले निर्घात कुटपिट गरेका छन् । विद्यार्थी कुट्ने छोरीका बुवा पाटेश्वर यादवलगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

राजपुर गाउँपालिका ३ खरदरियाका १९ वर्षीय विद्यार्थी मन्साराम यादव कुटपिटबाट गम्भीर घाइते भएका छन् । उनको टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ । कुटपिट गरेको अभियोगमा पाटेश्वर यादव र उनका दाइ धिरजबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभययो । काफ्लेका अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध केटी पक्षकाले स्वीकार गर्न नसक्दा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मन्साराम यादव जनज्योति माध्यमिक विद्यालय बेलाको कक्षा १२ मा अध्ययनरत छन् । सोही विद्यालयमा पढाउने शिक्षक पाटेश्वर यादवले आफ्नी छोरीसँग प्रेम गाँसेको भन्दै केटालाई बन्धक बनाएर कुटपिट गरेको उजुरी इलाका प्रहरी कार्यालय गढवामा परेको काफ्लेले जानकारी दिनुभयो ।

‘दुवैबीच प्रेम सम्बन्ध रहेको केटीका बाबुले थाहा पाएपछि योजनाबद्ध रुपमा बन्धक बनाएर कुटपीट गरेको देखिन्छ’ उहाँले भन्नुभयो, ‘योजनाअनुसार छोरीलाई विभिन्न डर धम्की देखाएर मन्सारामलाई बोलाउन लगाइएको देखियो ।’ लाठीले अन्धाधुन्ध प्रहार गरेको पीडित मन्सारामले प्रहरी सामु बयान दिएका छन् ।  घाइते यादवको वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भइरहेको छ ।

केटीका आफन्तले मान्सारामलाई नक्कली चोर बनाएको कागजसमेत प्रहरीले बरामद गरेको जनाएको छ । कागजमा केटीका आफन्तले ती केटालाई ‘म चोरी गर्न आएको थिएँ, चोरी गर्दागर्दै घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन, गरेको खण्डमा यही कागजका आधारमा उजुरी फिर्ता लिनेछु’ लिखित कागज बनाएका रहेछन् काफ्लेले बताउनुभयो । 

कागजमा केटालाई जबरस्ती सहीछाप गर्न लगाएको पीडितले प्रहरीसामु बयान दिएको प्रहरीको भनाइ छ ।