• ८ जेठ २०८१, मङ्गलबार

प्रतिनिधि सभाको शून्य समय : नागरिकता विधेयकदेखि शिक्षाको अवस्थाबारे चर्चा

blog

फाइल तस्बिर

काठमाडौं, साउन २५ गते। प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। .

बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले देशमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था नाजुक अवस्थामा पुगेको बताउनुभएको हो। उहाँले बालबालिकाले गुणस्तरीय शिक्षा लिन नपाएको तथा बालबालिका कुपोषणको सिकार भइराखेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो। 

प्रतिनिधि सभा सदस्य दिल कुमारीले नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभा सदस्य दुर्गबहादुर राउतले जनयुद्ध र जनआन्दोलनका क्रममा घाइते भएका कतिपय व्यक्ति तथा परिवारले अझै पनि राज्यले दिने भनेको जीवन निर्वाह भत्ता नपाएका बताउनु भयो। उहाँले भत्ता पाउन छुटेका घाइते, अपाङ्ग र शहीद परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।

प्रतिनिधि सभा सदस्य दुर्गाकुमारी विश्वकर्माले विगतको सरकारले सिमाबाट तरकारी तथा फलफूल ल्याउँदा विषादी जाँच गरेर ल्याउने व्यवस्था गरेको उल्लेख गर्दै हाल विषादी जाँच गर्ने मेसिन कुन अवस्थामा भनेर प्रश्न गर्नुभयो। उहाँले विषादी जाँच गरेर मात्रै तरकारी तथा फलफूल नेपाल भित्र्याउने व्यवस्था गर्न माग गर्नुभयो।

प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले देशमा आत्महत्याको घटना शृङ्खलाबद्ध किसिमले बढ्दै जानु गम्भीर समस्या भएको बताउनुभयो। उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आत्महत्या बढ्नुको कारण पत्ता लगाएर यस्ता घटना रोक्न सरकारले कदम चाल्नुपर्ने बताउनु भयो।

प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङले सरकारले तत्काल निर्वाचन सम्बन्धी ऐन ल्याउनुपर्ने बताउनुभयो। उहाँले निर्वाचन घोषणा गरेसँगै प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा बहस उठेको भन्दै प्रतिनिधि सभाको कार्यअवधिको सम्बन्धमा पनि ऐन आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रतिनिधि सभा सदस्य नवीना लामाले गएराति मनोहरा खोलाको बाढीले सुकुम्वासी बस्ती डुबानमा परेको भन्दै पीडितलाई राहत तथा पुनःस्थापना गर्न सरकार सँग माग गर्नुभयो। प्रतिनिधि सभा सदस्य निरुदेवी पालले केपी ओली नेतृत्वको सरकारले कञ्चनपुरमा सुरु गरेका विकास निर्माणका काम रोकिएको भन्दै आपत्ति जनाउनुभयो। 

प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्न माग गर्नुभयो।

प्रतिनिधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले हरुवा चरुवाको पुनर्स्थापनाको प्याकेज घोषणा गर्न माग गर्नुभयो। प्रतिनिधि सभा सदस्य पुष्पाकुमारी कर्ण कायस्थले रेडियो नेपालले मैथिली र भोजपुरी भाषाको कार्यक्रम केन्द्रीय प्रसारणबाट हटाएको भन्दै आपत्ति जनाउनुभयो।

प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली स्नेहीले त्रिभूवन विश्वविद्यालयले प्रश्नपत्र दोहोर्या‍एको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै त्रिविको उपकुलपति र रजिष्ट्रारलाई कारबाही गर्न माग गर्नुभयो। प्रतिनिधि सभा सदस्य प्रेम सुवालले निर्वाचनमा गठबन्धन गर्ने दलहरुलाई एउटै घोषणापत्र जारी गराउने र निर्वाचन चिह्न पनि एउटै पाउने व्यवस्थाको लागि निर्देशन हुनुपर्ने बताउनुभयो।

उहाँले जनताको सुरक्षाका लागि उपत्यकाका आवास क्षेत्रमा बाह्र तथा चौध पाङ्ग्रे गाडीहरु तत्काल बन्द गर्नुपर्ने बताउनुभयो।