• १३ साउन २०८१, आइतबार

हुलाकी सडक कालोपत्रे

blog

जीवछ यादव

लहान, साउन २५ गते । मधेशको जीवनरेखाका रूपमा लिइएको हुलाकी सडकमा कालोपत्रे भएपछि दक्षिणी भेगका बासिन्दा खुसी भएका छन्। सिरहाको सदरमुकाम सिरहा र सप्तरीको सदरमुकाम राजविराज सुक्खा मौसममा जान सो सडक प्रयोग भइरहेको छ। 

सिरहामा ८० प्रतिशत कालोपत्रे निर्माण सम्पन्न भएको छ भने गागन र सहजा खोलामा बाँकी रहेको पुल निर्माणको टेन्डरसमेत भएकाले सुक्खा समयमा सिरहा–राजविराज जान हुलाकी सडक प्रयोग भइरहेको छ। राष्ट्रिय राजमार्गमा गाडीको चाप रहेकाले हुलाकी सडकबाट जान सो सडक प्रयोग हुन थालेको लहान–३ का रामसेवक ठाकुरले बताउनुभयो। 

दक्षिण भेगका मात्रै नभई लहान नगरपालिकाका स्थानीय तहमा यात्रा गर्न सहज हुने गरेको भगवानपुर गाउँपालिका–३ का वडाध्यक्ष सूर्यनारायण यादवले बताउनुभयो। “दक्षिणी भेगमा हरेक चोकमा हटिया बजारसमेत लाग्न थालेको छ। भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही गाउँपालिकाका बासिन्दालाई राजविराज वा सिरहा जानुपर्दा १० किलोमिटर उत्तर पुगेर राजमार्गमा बस चढेर जानुपर्ने बाध्यता हटेको छ। सुगम जिल्ला भएर पनि दुर्गमको जस्तो अनुभव गरिरहेका दक्षिण भेगका बासिन्दामा खुसी छाएको छ,” नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउद्गार यादवले भन्नुभयो। 

हुलाकी सडकले दक्षिणी भेगका बासिन्दाले हरेक क्षेत्रमा प्रगति गर्न थालेका छन्। नवराजपुर गाउँपालिकाको सुनवर्षा चोकमा जग्गा सुनभन्दा पनि महँगो भएको छ। हुलाकी मार्गमा हाटबजार, उद्योग, विद्यालयलगायत अन्य सङ्घसंस्था धमाधम खुलिरहेका छन्। अब टाढाको बजार जान, सिरहा र राजविराज पुग्न सहज भएको छ। हुलाकी सडक निर्माण कार्यका पूर्वइन्जिनियर जयनाथ यादवका अनुसार बलान पुल सञ्चालनमा आएको छ।