• १५ असार २०८१, शनिबार

दुर्घटना रोक्न ‘राडार गन’

blog

सन्तोष सुवेदी

कास्की, साउन २४ गते । पोखरा महानगरपालिका–२५, हेम्जा हुँदै जाने मध्यपहाडी लोकमार्ग क्षेत्र ‘भाइरल रोड’का नामले चिनिन्छ। फराकिलो सडक, रङरोगन र ट्राफिक सङ्केत जनाउने अनेक रेखा र चिह्नले सडकलाई आकर्षक बनाएको छ। त्यही सडकमा पुगेर ‘टिकटक’ बनाउन फोटो खिच्नेहरूका कारण यो ‘भाइरल रोड’ बन्न पुग्यो।  पोखरा–बागलुङ सडकखण्डअन्तर्गत मध्यपहाडी लोकमार्गको यो सडकमा पछिल्लो समय अत्यधिक दुर्घटना हुन थालेको छ। केही वर्षपहिलेसम्म थोरै मात्रामा घर रहेको हेम्जा अहिले बजारमा परिणत भएको छ। 

सोही कारण सडकमा पैदलयात्री, सवारीसाधन र चौपाया पनि बढ्दै गएका छन्। डोरी तन्काएजस्तो सिधा सडक परसम्मको अवस्था वरैबाट प्रस्ट देख्न सक्ने भएपछि सवारीको तीव्र गतिसँगै दुर्घटना बढेको अधिकारी बताउँछन्।  हेम्जाको सडक अहिले छ लेनको छ। दुर्घटनाको जोखिम बढ्दै गए पनि चालकहरूले अनियन्त्रित गतिमा सवारी दौडाउने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पनि हेम्जाको सडकमा विशेष निगरानी बढाएको छ। 

दिनहुँजसो सामान्य दुर्घटना भइरहने र चालकहरूले तीव्र गतिमा सवारी हाँक्ने हुँदा सुरक्षाका लागि प्रहरीले कदम चालेको छ। अहिले भाइरल सडकमा ‘राडार गन’सहितको ट्राफिक प्रहरीले छड्के जाँच सुरु गरेको छ। 

‘राडार गन’ले टाढै रहेको सवारीको गति मापन गर्ने भएकाले ट्राफिक प्रहरीलाई देखेपछि मात्रै गति कम गर्ने प्रवृत्ति अन्त्य हुने र दुर्घटनाको सङ्ख्या बढ्दै गएको हेम्जाको ‘भाइरल रोड’ यात्राका लागि सुरक्षित हुने ट्राफिक प्रहरीको विश्वास छ। 

कास्कीका ट्राफिक प्रहरी प्रमुख प्रकाश शाह ठकुरीका अनुसार साउन २० देखि छड्के जाँच सुरु भएको हो। “हप्ता दिन, १० दिनमा छड्के जाँच हुनेछ,” उहाँले भन्नुभयो, ‘‘साउन २० मा ४० सवारी साधनहरू कारबाहीमा परेका थिए।” 

राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय १५ किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको उहाँले सुनाउनुभयो। “बस्ती भएको क्षेत्रमा ४० भन्दा बढी स्पिड हुनु हुँदैन। ८० भन्दा बढी स्पिट गर्ने सवारीलाई कारबाही हुनेछ,’’ उहाँले भन्नुभयो। 

उक्त सडकमा गत आर्थिक वर्षमा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको थियो। यो आर्थिक वर्षको सुरुवातसँगै एक जनाको दुर्घटनामा मृत्यु भएको ठकुरीले जानकारी दिनुभयो। “राडार गनमा रहेको सेन्सरमा परेको सवारीको गति सवारीमा जति छ गनमा पनि त्यति नै देखिन्छ। चालकले हामीलाई देखेको हुँदैन तर हामीले सवारीको गति थाहा पाइसकेका हुन्छौँ,’’ उहाँले भन्नुभयो। मध्यपहाडी लोकमार्ग ‘हाइवे’ भए पनि हेम्जा खण्डमा भने चालकले चाहेको गतिमा सवारी कुदाउन नपाइने उहाँले प्रस्ट्याउनुभयो।