न्युरोडमा खुलेका सहकारीमध्ये हालसालै ३२ वटा भागे। सर्वसाधारणको सञ्चित अर्बांै रुपियाँ लिएर सञ्चालक अलपिए। कतिपय गिरफ्तार भए पनि कानुनी छिद्र खोजिँदै अदालत किन्ने प्रयत्न पूर्व सांसदले गरेको पनि छयाङ्ग देखियो। भ्रष्टहरू जोगिन नक्कली छोडपत्र, पराइको नाममा भ्रष्टाचारी सम्पत्ति सुरक्षित राखेको पनि देखिन थाले। ठगका लागि उम्दा ग्राहक भनेका लोभी हुने गर्छन्। सामाजिक हितका लागि कौडी ननिकाल्नेहरू पनि मिटर ब्याज वा धेरै ब्याजमा लगाउने र ठगिएपछि भने रुने चिच्याउने गर्छन्।
अहिले म्यान पावर कम्पनी, बैङ्क फ्रड सहज पुँजीका खेलाडी बने। शैक्षिक र मेडिकल माफियाहरूको कथनमा विद्यार्थी र रोगीका अभिभावक गरिब हुन सक्छन् तर कसैगरी पनि पैसा जोहो गर्न सक्छन् भन्ने सोचाइ हुन्छ। उनीहरू सेता कपडामा ठाँटिएकाले सहज पुँजीको वैधानिकता पनि पाएका हुन्छन्। कलिलै उमेरमा गोल्ड मेडलिस्ट भएर पदोन्नतिको धेरै सम्भवना भएको उपसचिव सहज पुँजी आर्जनले रङ्गेहात घुसमा समातिए। हालै कोहलपुरमा भर्खरका युवाको एउटा सङ्गठित गिरोहले नाटकीय रूपमा विवाह, योजनाबद्ध बीमा र बीमाधारकको हत्या गर्छन्। बीमासँग दुई करोड ५० लाख रकम लिएर बाँडफाँट पनि गर्छन्। त्यही अर्को घटना छ– सम्पत्ति एकलौटी पार्न दाजु भाउजू मिलेर भाडाका हत्यारामार्फत भाइ, बुहारीको हत्या। सहज पुँजीको भोक, निरास समाजमा ड्रगको कारोबार र सेवन, टोले गुण्डा गिरोह, न्याय प्रशासन किन्न सकिन्छ भन्ने सोच, जेसुकै तरिकाले कमाए पनि धनीलाई धनको स्रोत खोजिँदैन। सुविधा त भोगिन्छ नै भन्ने सामाजिक सम्मान पनि बढ्छ भन्ने मान्यता विकास भइरहेको छ।
सामाजिक मनोविज्ञान
सभ्यताको विकाससँगै सम्भावनाको खोजीमा मान्छे बसाइँसराइ सर्दै गयो। नयाँ सहरहरू बन्दै गए। सहर, सम्भावनाको नगरी मात्रै नभई चुनौती र महाप्रतिस्पर्धाको थलो पनि हुन्छ। उपभोक्तावाद फैलिँदै जाँदा ऋण काढेर भए पनि तुजुक देखाउने चलन पनि छ। सहर र उपभोक्तावादको गाढा मितेरी भएर बजार संस्कृति बन्छ। सोच र महत्त्वाकाङ्क्षालाई बजारले नियन्त्रण र निर्देशन गरेपछि मान्छेमा नित्य नयाँको चाहना बढ्दै जान्छ। बजारसँग सबै चिज किन्ने र बेच्ने सामथ्र्य हुन्छ। उपभोक्तावादले हरेकलाई बजारको ग्राहक बनाइदिन सक्छ। भनिरहनुपरेन गर्भका बच्चा, जलाउन थालिएका मुर्दा पनि ग्राहक बन्छन्। एस्किमोलाई बरफ बेच्नु र तालु खुइलेलाई काइयो पनि बेच्न सक्छ।
सहरले एकातर्फ महत्त्वाकाङ्क्षा बढाइदिन्छ अर्कोतर्फ महत्त्वाकाङ्क्षाको व्यवस्थापन गर्नु त्यति सजिलो हुँदैन। नवधनाढ्यहरूको तुजुकले भने सामान्यजन पनि प्रभावित भइहाल्छन्। उसका आर्थिक प्रगतिका अँध्यारापाटा अपराधपूर्ण हुन्छन् भन्ने सोच्दैनन्। कति छर्लङ्ग देखिन्छन्, कतिपय पैसा र शक्तिको आडमा दबाइएका हुन्छन्। त्यसैले नवधनाढ्य र अपराधको दुनियाँसँग राजनीतिको सम्बन्ध गाँसिन्छ। धन, शक्ति र यौनको भोकले मान्छे कहिल्यै अघाउन्न। तृष्णाले नैतिकताका बन्धन भत्कँदै जान्छन्। अरूले के भन्लान्! पुर्खाको इज्जत के होला! समाजमा कुन अनुहार देखाउने! जस्ता मनोवैज्ञानिक डरले मान्छे आदर्शवादी बनेको हुन्छ। लाज र शरम हराएपछि नैतिकताका बन्धन टुटछन्। परिणाममा नदेखिउन्जेल हरेक अपराधी सुरक्षित सोच्छ र कानुनको पञ्जामा परेपछि परिबन्दले परेको भन्ने तर्क कोरल्छ।
मान्छेलाई सक्रिय बनाउने तत्त्व के हो ? कसैले पनि आफ्ना सन्तान अपराधी बनोस् भनेर सोच्दैनन् तर जति आधुनिकतातर्फ समाज बढ्दैछ अपराधका रूप र चरित्र पनि नयाँनयाँ अनुहारमा देखा पर्दैछन्। किन मान्छे आफैँले खनेका खाल्डामा पुरिएर आत्मघात् गर्न चाहान्छ! महत्त्वाकाङ्क्षाको समुचित व्यवस्थापन सहजै हुन नसकेपछि सजिलै आम्दानीको बाटो खोजिन्छ। उदयमान सहरका अगस्ति बजारले सुविधा मात्रै बढाउँदैन क्रयशक्ति नहुँदा पनि तुजुक प्रदर्शनका चाहना भने चुलिन्छन्। चाहना र अभावबीचको द्वन्द्वले अपराधको दुनियाँमा धकेल्छ। झन् इन्टरनेटको पहुँचले अपराधका पुराना तरिका फेरिँदै नयाँशैली देखिँदै गए। भावनामा बगेर, परिबन्दले घचेटेर, बदलाको घृणाले उत्तेजित भएर गरिने अपराधभन्दा पनि सहज आम्दानी गरेर रातोरात धनी बन्ने सोचले समाजमा नयाँखाले अपराधी देखा पर्दै गए। चाहनाको व्यवस्थापन गर्न नसक्दा अपराध र कुकर्ममा होमिँदै गए।
भ्रष्टाचार आर्थिक मात्रै हुँदैन। सहज अम्दानी (इजी मनी) श्रमप्रतिको घृणा र एकाएक धनाढ्य बन्ने चाहानाले मान्छेलाई फोहोरी खाडलमा धकेल्छ। सोचको केन्द्रमा मानव नभएर मान्छे मात्रै रहन गएपछि सहज पुँजीका लागि अपराधकर्म तर्फ आकर्षण गराउँछ। अर्को पक्ष भनेको गाँउघरमा काम गर्न लजाउनेहरू विदेशमा भने फोरडी (डिफिकल्ट (कठिन), डिग्रेट (अपमानित), डिभ्यालुज (मूल्यहीन) र डेन्जर (खतरा)) काम गर्न स्वीर्काछन्। ‘गाउँमा खेताला नपाएर खेत बाँझो हुन्छ, विदेशमा छोरो भने काम नपाएर तडपिन्छ’ । अझ रमझम सहरमा गाडी देखाउँदै फोटो सामाजिक सञ्जालमा टाँसेर अरूलाई लोभ्याउँछ।
सहज अम्दानी
सहज पुँजीको वेदान्त शास्त्रमा बाँचे एसको जिन्दगानी, मरे यत्रैसित्ति भन्ने हुन्छ। कानुनको फन्दामा परे, सके कानुन किनौँला, नसके जेलैबाट पनि धन्दा चलाउँला भन्ने ‘आदर्श’ सिद्धान्त गढेर उदीयमान सहरमा अपराधका नयाँनयाँ तरिका देखा पर्दैछन्।
संस्थागत र वैधानिक खेलमा भएका राजकीय भ्रष्टाचारलाई भ्रष्टतन्त्रमा (क्लेप्टोक्रसी) समाजले सहजै स्वीकार्छ। भ्रष्टतालाई अपराधभन्दा पौरखीहरूको चातुर्य, क्षमता र योग्यता सोच्न थालेपछि भ्रष्टता समाजको अङ्ग बन्न थाल्यो। जहाँ भ्रष्टाचारलाई राजनीतिक संरक्षण हुन्छ, त्यहाँ भ्रष्टाचारीले नै राजनीतिक पार्टी कब्जा गर्छन्। पार्टीजनहरू आफ्ना भ्रष्ट भए समर्थन र सुरक्षा गर्छन्। आफू चोखो र अरू मात्रै भ्रष्ट भन्ने मान्यता विकसित हुन्छ।
जसरी विज्ञानका विकास र आविस्कारसँगै रुढिवाद फैलिँदो छ त्यस्तै इन्टरनेटको पहुँचसँगै मान्छेका स्वभाव र सोच पनि फेरिँदै गए। मिडियाले मान्छेलाई नित्य नयाँ बनाइरहन्छ। हातहातमा रहेका एनरायड फोनले संसारमा भएका राम्रा र नराम्रा कुराको जानकारी सहजै पाउन सकिने भयो। त्यसैले साइबर अपराध र हनी ट्रायपका घटना बढे।
फेरिएका नायक
बजार शक्तिसँगै नायकका परिभाषा, रूप र गुण पनि फेरिँदै गए। नायकहरूको नायकत्व गुम्दै जानु भनेको समाज निराशामा धकेलिनु हुन्छ। नयाँ परिभाषामा भ्रष्ट र डन संस्कृतिले सामाजिक वैधता पाउन थाल्छ। आदर्शका धरहरा बनाउन जिन्दगी खर्चनेहरू पनि वासना र सहज पुँजीको भोकले एकाएक खलनायकमा फेरिएको पत्तै पाउँदैनन्। कुनै दिनका आदर्श भूमिकाले कथाको रूप लिन पुग्छ। गरेको योगदान भ्रष्टताको इन्सुरेन्स बन्न पुग्छ।
पूर्वी सुर्खेतका चन्द्रबहादुर बुढा राष्ट्रिय पञ्चायतमा सदस्य हुने गर्थे। उनी एक पटक बैङ्कबाट सुनको भरिया बनेर आउँदा सेटिङ बिग्रिएर एयरपोर्टमै समातिए। छुटेपछि भन्ने गर्थे, मेरा मतदाता दिदीबहिनीलाई एक एक वटा तिलहरी र यार्लिङ बनाइदिने कत्रो धोको थियो, सबै सपना चकनाचुर भयो। उनलाई सुनबुढा भनेर चिनिन्थ्यो। अहिले सुन बुढाहरू जताततै छयास्सछयास्ती भेटिन्छन्।
राजनीतिमा आएको आदर्शको स्खलन प्रभाव समाज र संस्कृतिमा पर्दै गयो। नायकसँगै नैतिकता, आदर्श, सिद्धान्त, पाप र धर्मजस्ता शब्दका मर्म फेरिए। अरूले के भन्ला ? भन्ने लोकलाज हराउँदै गयो। राजनीति व्यवसाय र महँगो बन्दै गएपछि अपराधी स्वयं राजनीतिमा संलग्न हुँदै सुरक्षित ठेगाना सोच्न थाले। भ्रष्टीकरण वैधानिक सिन्डिकेट बनाएपछि त्यसका आदर्श समाजमा फैलिँदै गए।आम्दानीको अपारदर्शिता र खोजी निकायको अभावले भ्रष्टाचार संस्थागत बन्न पाउँछ। सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएपछि पार्टीहरू भ्रष्टाचारीहरूको कब्जामा पुग्छन्। ठूला माछा उम्कने, साना जालमा फस्ने नजिर बन्ने गर्छ। ठूला मुद्दामा अख्तियारले हारेको छ भने अदालत भ्रष्टाचारको ड्राइ क्लिनर्स बन्दैछन्। दण्ड सजाय भयो नै भने पनि कम भएर अरू सम्पत्ति चोखिन्छ। मान्छेको सम्झने शक्ति कमजोर भएकाले यहाँ ठूला अपराधमा दामिलहरू पनि अन्य देशमा सपरिवार बसाइ सरेर मस्तीको जीवन काटिरहेका हुन्छन्।
अन्त्यमा
अरूलाई ठूलो र आदर्श उपदेश दिने पण्डित र चङ्खे पनि शक्तिको पछेउरीमा लुकेपछि अपराध र कुकर्म छिप्न सक्छ भन्ने सोच विकास हुँदै गए । त्यसले शक्तिमा पुग्न र टिकिरहन जे–जसो गरे पनि हुन्छ भन्ने मान्यता स्थापित हुँदैगयो। श्रमलाई घृणा गर्न थालेपछि एक्कासि धनी बन्ने जागृत इच्छाले मान्छेलाई अपराध र कुकर्मको बाटोमा धकेल्दै गयो। जबसम्म अपराधीले सुरक्षाछाता पार्टी, राजनीति र सत्तालाई सोचेर अपराध गर्नु बाध्यता थियो भन्ने तर्क कोरली रहनेछन् जबसम्म राजनीतिक क्षेत्रमा आदर्शको पुनस्र्थापना हुँदैन, समाजमा सहज आम्दानीको भोकको उपचार पनि हुनेछैन।