• १३ साउन २०८१, आइतबार

खर्च सकिँदा सिकलसेलका २० बिरामी समस्यामा

blog

सिकलसेलका विरामीको अवस्थाबारे जानकारी गराउँदै डा. पाण्डे । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन २२ गते । सरकारले दिएको उपचार खर्च सकिएपछि भेरी अस्पतालमा उपचार गराइरहेका सिकलसेलका बिरामीहरु समस्यामा परेका छन् । 

सरकारले सिकलसेल बिरामीलाई एक लाखसम्म उपचार खर्च दिने गरेको छ । सरकारले दिने खर्च सकिएपछि भेरी अस्पतालमा उपचार गराइरहेका २० जना बिरामीहरु समस्यामा परेको अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार २० जना बिरामीको उपचार खर्च सकिएको छ भने अन्य १० जनाको पनि सकिनै लागेको छ । 

सरकारले दिएको उपचार खर्च सकिएपछि २० जना बिरामीलाई उपचारमा ठुलो समस्या देखिएको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले बताउनुभयो । 

उहाँले उपचार खर्च सकिएकामध्ये केहीको उपचार सामाजिक ईकाई शाखाबाट भइरहेको र धेरैले आफ्नै खर्चले उपचार गर्नुपर्दा निकै समस्यामा परेको बताउनुभयो । 

सरकारी उपचार खर्च सकिएका अधिकांश बिरामीको आर्थिक अवस्था निकै कमजोर रहेकाले उनीहरुलाई समस्या भएको डा. पाण्डेको भनाइ छ । 

उनीहरुको उपचारका लागि तत्काल वैकल्पिक व्यवस्था गर्न नसकिए उनीहरुले उपचार पाउन समस्या हुने देखिएकाले यसतर्फ सम्बन्धित सबै निकाय गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो । 

आफूसँग भएको धनसम्पत्ति सबै पहिले नै उपचारमा सकाइसकेको र सरकारले दिएको उपचार खर्च पनि अहिले आएर सकिएपछि उपचारमा निकै समस्या भएको दुखेसो बाँकेका बिरामी काशिराम थारुले गर्नुभयो । 

उहाँले सरकारले फेरि उपचार खर्च नदिने हो भने आफुहरु बाँच्न नसक्ने समेत बताउनुभयो । सोही प्रकारको दुखेसो उपचार खर्च सकिएका सबै बिरामीको छ । 

भेरी अस्पतालमा ९०० जना सिकलसेलका बिरामी नियमित उपचारमा रहेको अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.पाण्डेले जानकारी दिनुभयो । 

पश्चिम नेपालका थारु समुदायमासहित अन्य समुदायमा समेत देखिएको सिकलसेल रोगका बिरामीलाई आवश्यक औषधि समयमा उपलब्ध गराउन नसके समस्या हुने उहाँको भनाइ छ । 

सिकलसेल रोगको न्यूनीकरणका लागि हरेक समुदायमा स्क्रिनिङ जरुरी रहेको डा. पाण्डेले बताउनुभयो । त्यसैका आधारमा रोगी र वहाकको पहिचान हुने र उपचार तथा न्यूनीकरणका कार्यक्रमहरु अगाडि बढाउन सहज हुने उहाँले बताउनुभयो । 

बाँकेका थारु समुदायको बाहुल्य रहेको केही पालिकामा स्वास्थ्य कार्यालय बाँकेले सिकलसेल रोग पत्ता लगाउन स्क्रिनिङ शुरु गरेको छ ।

जिल्लाको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा गरिएको स्क्रिनिङमा धेरै जनामा सो रोग देखिएको स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।