• १३ साउन २०८१, आइतबार

प्रजातान्त्रिक योद्धा वादेको निधनप्रति प्रधानमन्त्री दुःखित

blog

स्वर्गीय गोपालदास वादे

काठमाडौं, साउन १८ गते। नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा गोपालदास वादेको निधनले आफू अत्यन्त मर्माहत र दुःखित भएको बताउनु भएको छ।

नेपाली कांग्रेस काभ्रेका पहिलो पुस्ताका नेता वादेको ९७ वर्षको उमेरमा वनेपास्थित आफ्नै निवासमा निधन भएपछि उहाँले दिनुभएको शोक सन्देशमा सो कुरा उल्लेख छ। 

प्रधानमन्त्री देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभएको छ— “नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा गोपालदास वादेको निधनको खबरले मलाई अत्यन्त मर्माहत र दुःखीत बनाएको छ।’’

उहाँको निधनबाट नेपाली कांग्रेसले एक असल र निष्ठावान नेतालाई गुमाएको  उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभएको छ, ‘‘नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’’

उहाँले स्वर्गीय वादेको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ। 

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, भारतको कोलकतामा भएको कांग्रेसको महाधिवेशनमा भाग लिनुभएका उहाँका दाजु राजदास वादेको प्रेरणाबाट गोपालदास कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको थियो। 

जननायक वीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईको सानिध्यतामा रहेर उहाँले नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। 

वि.सं. २००३ सालदेखि नेपाली कांग्रेसमा आवद्ध रहनुभएका स्वर्गीय वादे सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय हुनुहुन्थ्यो। 

वादे परिवारको सहयोगमा वनेपामा शीर मेमोरियल अस्पतालको समेत स्थापना भएको थियो। उहाँ नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री एवं पूर्व राज्यमन्त्री कञ्चनचन्द्र वादेका पिता हुनुहुन्छ। स्वर्गीय वादेका दुई छोरा र दुई छोरी हुनुहुन्छ।