ललिता साह
बोदेबर्साइन (सप्तरी), साउन १८ गते । राजविराज नगरपालिका–१४, परसाहीकी चन्द्रकलादेवी सदालाई अर्काको खेतबारीमा मजदुरी गर्दा तीन महिना पनि खान पुग्दैनथ्यो। सामूहिक खेती गर्न थालेपछि महिनाको २० देखि ३० हजार रुपियाँ आम्दानी हुन थालेको छ। दुई दर्जन महिला संलग्न रहेको सबुरी कृषक समूहको अध्यक्ष रहनुभएकी चन्द्रकला भन्नुहुन्छ, “हामी सबै हिसाबले सम्पन्न हुँदै गएका छाैँ।”
पाँच वर्षदेखि मुसहर समुदायका महिलालाई सङ्गठित गरी मौसमअनुसारको सामूहिक खेती गर्ने र गराउनेमा क्रियाशील हुनुहुन्छ चन्द्रकला। स्थानीय संस्था सेभ द सप्तरीको समन्वयमा सयौँ महिला समूह बनाएर खेती गर्न प्रोत्साहित र सङ्गठित हुनुभएको छ। आफ्नो र परिवारको मुहार फेर्ने गरी व्यवसायिक खेती गरेर महिला उदाहरणीय बन्नु भएको संस्थाका कार्यक्रम संयोजक रामकुमार यादवले बताउनुभयो।
राजविराज सदरमुकामदेखि चार किलोमिटरको दुरीमा रहेको ऐलानी जग्गामा बसोबास गर्दै आएका करिब ८० घरधुरी मुसहर बस्तीमा पाँच वर्षअघि न सोचे जति रोजगारी थियो, न त खेती गरेर खाने जग्गा जमिन। अहिले यस बस्तीको सामाजिक, आर्थिक र शैक्षिक अवस्था फेरिएको छ।
अरूकै जग्गामा भए पनि मुसहर समुदायले लहलहाउँदो धान, तरकारी, गहुँ, मकै फलाएर मौसमअनुसारको व्यवसायिक खेती गरेका छन्। अहिले यहाँका बालबालिका विद्यालय पोसाकमा समयमै विद्यालय पुग्छन्। कोभिड महामारीका बेला विद्यालय सञ्चालन नहुँदा टोलमै तीनवटा ट्युसन सेन्टर सञ्चालन गरेर बच्चालाई पढ्ने व्यवस्था मिलाइएको स्थानीय युवा विनोद सदाले जानकारी दिनुभयो।
यहाँका मुसहर बस्तीका गाउँलेसँग आफ्नो नाममा जग्गाधनी पुर्जा छैन। स्थानीय जमिन्दार र धनी गाउँलेको बिघा जमिन ठेक्कामा लिई मुसहर समुदायले व्यावसायिक खेती गर्दै आएका छन्। पाँच वर्षदेखि खेतीबाट भएको आम्दानीले छ जना छोराछोरीसहित १० जनाको परिवारको जीविकोपार्जन मात्रै भएको छैन, स्थानीय सहकारी, लघुवित्त र बैङ्कमा गरी मासिक २० हजार रुपियाँ बचतसमेत गरेको चन्द्रकला बताउनुहुन्छ।
समूहकी सचिव रेखादेवी सदालाई व्यावसायिक खेतीमा लाग्नु अगाडि श्रीमान्ले कमाएको पैसा रक्सीमा खर्चने, घरमा चार जना छोरी पाल्न धौ–धौको अवस्था थियो। “कहाँबाट कमाउनु र बच्चालाई के खुवाउने भन्ने चिन्ताले दिन रात सताइरहँदा सुरु–सुरुमा मैले पनि कमाउँछु भनेर कहिल्यै सोचेकी थिइनँ तर समूहमा लागेदेखि घर चलाउने र बच्चा पाल्ने पैसा जुटाएकी छु। बरु भएको बेला श्रीमान्लाई पैसा दिएर सघाएकी छु र बचत पनि राम्रै गर्दै आएकी छु,” समूहकी सचिव रेखादेवी सदाले भन्नुभयो।
खेती गर्दा आफ्नो मात्रै नभई समूहमा कसको बालीमा कति प्रगति र कुन बालीमा के समस्या छ ? त्यसको उपचार र समाधान के गर्ने भन्ने कुरामा समेत समूहका महिला पोख्त छन्। यहाँका महिला एक आपसमा आफूले सिकेका ज्ञान, सीप र अनुभव आदान प्रदान गर्छन्। व्यावसायिक खेतीले परिवारका अन्य सदस्यलाई समेत रोजगार दिएको छिन्नमस्ता गाउँपालिकाको लक्ष्मी कृषक समूहकी अध्यक्ष सीतादेवी सदाले बताउनुभयो।
तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी साहका अनुसार पैसा नभएरै घरमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गर्ने, बालबालिकालाई विद्यालय नपठाउने जस्ता समस्या न्यूनीकरण भएको र अनेक प्रकारले हुने घरेलु हिंसामा समेत कमी आएको छ।
कृषिमा आत्मनिर्भर बन्न चाहने महिलाका लागि कृषिमा आधारित कार्यक्रम यही आर्थिक वर्षको बजेटभित्र समावेश गरेर खर्चिने योजना ल्याउने हनुमाननगर नगर पालिकाकी उपप्रमुख सरिता सिपलियाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “नगरको शिक्षा, स्वास्थ्यमा महिलाको पहुँच हुनुपर्ने मान्यता झैँ यस नगरभित्रका महिलाले गर्ने सामूहिक तरकारी वा कुनै बालीको खेती गर्नेलाई नगरले ५० प्रतिशतसम्म अनुदान रकम उपलब्ध गराउनेछ।”
मुसहर समुदायमा जरा गाडेर रहेको रक्सी सेवन, घरेलु मदिरा उत्पादनलगायतको विकृति हट्दै गएको र बाल बच्चा पढाउनु पर्छ भन्ने चेतनाको विकास पनि बिस्तारै बढ्दै गएको सेभ द चिल्ड्रेनकी कार्यक्रम अधिकृत कान्ति खड्काले बताउनुभयो। सप्तरीको राजविराज नगरपालिका, हनुमाननगर, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिकालगायतका स्थानीय तहमा सङ्गठित दर्जन बढी समूहको माध्यमबाट सयाैँ घरपरिवारका मुसहर र अन्य समुदायका हजारौँ महिला स्वरोजगार भएका छन्।
सङ्गठित भई महिलाले थालेको सामूहिक खेतीको अवधारणाले राज्यको सेवा सुविधाबाट पछाडि पारिएका महिला, दलित, अल्पसङ्ख्यक, मुस्लिम समुदायको जीवनस्तरमा क्रमिक सुधार आएको छ।
तिलाठी कोइलाडी कमलेश्वरी कृषक समूहकी अध्यक्ष प्रमिलादेवी साह भन्नुहुन्छ, “बेटियामा लिइरहेको तीन कट्ठा खेत वर्षको एक दिन पनि बाँझो राख्दैनौँ। भए मौसमी नभए बेमौसमी कुनै न कुनै बाली लगाएकै हुन्छौँ। यसले घर चलेको छ।” प्रमिलाका अनुसार श्रीमान् बेरोजगार भएको बेला दुई छाक धान्न मुस्किल परेको थियो तर सामूहिक खेती गर्न थालेपछि तीन जना बच्चा समयमा विद्यालय जान सक्ने भएका छन्। “पूरै परिवार खेतीमै होमिएका छौँ। महिनाको आठदेखि १५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको छ,” प्रमिला भन्नुहुन्छ।
सप्तरीका विभिन्न पालिका स्तरमा गठन गरिएका यस्ता कृषक समूहले वर्षैभरि सामूहिक खेती गरेर मनग्य आम्दानी गर्ने गरेको स्थानीय विष्णुपुर गाउँपालिकाका महिनारायण यादव बताउनुहुन्छ। एउटा समूहमा २१ जना कृषक रहेको र एउटा समूहले सामूहिक खेतीबाट मासिक डेढदेखि दुई लाख आम्दानी गर्ने गरेको छ।