• २१ जेठ २०८१, सोमबार

ग्रामीण सडकमा सास्तीपूर्ण यात्रा

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), साउन १८ गते । इलाम नयाँबजारका सवारीचालक फुरी शेर्पा आफ्नो सवारीमा सधैँ कुटो, कोदालो र साबेल राखेर हिँड्नुहुन्छ। नयाँबजार–फिक्कल सवारी चलाउने शेर्पा कच्ची सडकमा सवारी चलाउँदा सधैँ समस्या झेल्नुपर्ने भएकोले यसो गर्नुपरेको बताउनुहुन्छ। 

चालक शेर्पा भन्नुहुन्छ, “कहाँ पुग्दा गाडी फस्छ भन्ने टुङ्गो हुँदैन, आवश्यक सामान बोकेरै हिँड्नुपर्ने बाध्यता हो।” शेर्पा मात्र होइन, उक्त सडकमा सवारी चलाउने सबै चालकले सजकता अपनाउनै पर्छ। गाडी फस्ने हुँदा अनेक उपाय लगाएर निकाल्नुपर्छ। 

फिक्कल–नयाँबजार सडक खन्न थालिएको छ दशक भइसकेको छ। प्रदेश १ को ५४ करोड रुपियाँमा सडक निर्माणको ठेक्का लागेर काम पनि भइरहेको छ। ठेक्का पाएको खनाल कन्ट्रक्सनले धमाधम काम गरिरहे पनि निरन्तरको वर्षाले सडकको बेहाल छ। सडकमा ग्राभेल हालिएको भए पनि वर्षाले सबै बगाएपछि आउजाउमै समस्या भएको छ। उक्त १९ किलोमिटर बाटो पार गर्न पाँच घण्टासम्म लाग्ने गरेको छ। माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीले ठेक्का लागेर काम भइरहेको सडकमा गाउँपालिकाले मर्मत गर्न नमिल्ने भएकाले समस्या भएको बताउनुभयो। 

इलाम जिल्लाका ग्रामीण सडकको हालत प्रायः सबैको उस्तै छ। वैशाख अन्तिमबाट नै वर्षा सुरु भएपछि जेठ महिनाबाट धेरैजसो गाउँको सम्बन्ध सदरमुकामसँग टुटेको छ। जिल्लाको फाकफोकथुम गाउँपालिका अहिले सबैभन्दा समस्यामा छ। देउमाईको मङ्गलबारे, धुसेनी, फुयातप्पा हुँदै फकफोकथुम गाउँपालिका पुगिने सडकमा यातायात ठप्प भएको छ। इलाम सदरमुकामबाट ६४ किलोमिटरको उक्त सडकको आधा खण्डमा यातायत ठप्प भएपछि हिँडेर यात्रा गर्नुपरेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताउनुभयो। उहाँका अनुसार राँकेहुँदै कोल्बोटे फाकफोक जाने सडक पनि ठाउँठाउँमा पहिरो झरेर अवरुद्ध भएको छ। सदरमुकामबाट गाउँपालिका केन्द्र पुग्न ५२ किलोमिटर भए पनि उक्त सडकमा यात्रा गर्न पूरै दिन लाग्ने गरेको छ। गाउँपालिका अध्यक्ष खनालले भन्नुभयो, “कार्यालयको काम गर्न र बिरामी परेको खण्डमा सबैभन्दा बढी समस्या हुने गरेको छ।”

राके–रवि सडक खण्डसमेत ठेक्का लिएको निर्माण कम्पनीले समयमा काम नगर्दा समस्याग्रस्त बनेको हो। जिल्लाको सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरपालिकाको मुख्य कार्यालयसँग जोडिएका अधिकांश सडकमा अहिले सवारीसाधन सञ्चालन हुन छोडेका छन्। लगातारको वर्षाले केही ठाउँमा पहिरो गएको छ भने अधिकांश सडक हिलाम्मे बनेका छन्। 

जिल्लाको सबैभन्दा सुविधासम्पन्न मानिएको सूर्योदय नगरपालिकाका सडकसमेत अहिले हिलाम्मे छन्। हिउँदभरि मर्मत गरिएका सडक हिलाम्मे भएपछि यातायत सञ्चालनमा कठिनाई हुँदै आएको छ। सूर्योदय–१ को गोर्खे हुँदै थुम्के, मानेभन्ज्याङ जाने सडक जीर्ण बनेका कारण स्थानीयले सबैभन्दा बढी सास्ती खेप्नुपरेको छ। जिल्लाको भारतीय सीमाक्षेत्रमा पुग्ने सडकसमेत सञ्चालनमा समस्या भएपछि खाद्यान्न ढुवानीमा समस्या हुँदै आएको छ।