• १३ साउन २०८१, आइतबार

दुई हजार रोपनी बाँझो जग्गामा खेती

blog

तिलाचन पाण्डे

तम्घास, साउन १७ गते  । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई खेतीयोग्य जमिनमा परिणत गरेको छ ।

गाउँपालिकाभित्र बाँझो जग्गा नराख्ने नीति लिएपछि उक्त बाँझो जग्गामा फलफूल र अन्नबाली लगाइएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । 

कोरोना महामारीको समयमा बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिने गाउँपालिकाले नीति लिएको थियो । त्यसबेलादेखि बाँझो जग्गामा फलफूल र अन्नबाली लगाउँदै आएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

कोरोना महामारीको समयमा बाँझो जग्गामा फलफूलका बिरुवा लगाउने किसानलाई प्रतिरोपनी तीन हजार रुपियाँ र अन्नबाली लगाउने किसानलाई प्रतिरोपनी चार हजार रुपियाँका दरले गाउँपालिकाले अनुदान दिएको थियो ।

हालसम्म बाँझो जग्गालाई फलफूल र अन्नबाली लगाउने किसानलाई २९ लाख रुपियाँ अनुदानका रूपमा प्रदान गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

गाउँपालिकाभित्रका नागरिकलाई व्यावसायिक रूपमा कृषि र पशुपालनका माध्यमबाट आत्मनिर्भर बनाउन सकिने भन्दै कृषि, पशुपालन र पर्यटनलाई जोड दिएको उहाँले बताउनुभयो ।