• ८ जेठ २०८१, मङ्गलबार

सर्लाहीको हरिपूर्वामा युवकको हत्या

blog

फाइल तस्बिर

जनार्जन खत्री

सर्लाही, साउन १६ गते । सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वामा एक जना युवकको हत्या भएको छ । हरिपूर्वा नगरपालिका –३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षका सुशीलकुमार यादवको हत्या भएको हो । 

सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । 

प्रहरी नायब उपरीक्षक यादवले गोरखापत्रसँग भन्नुभयो, “शवको अवस्था हेर्दा निकै विभत्स ढङ्गले हत्या भएको देखिन्छ, प्रहरीले घटनाबारे अध्ययन गरिरहेको छ ।” भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आउनुभएको थियो । गत शुक्रबारदेखि उहाँ घरबाट बेपत्ता भए पनि परिवारका सदस्यले सो बारेमा प्रहरीलाई खबर गरेको थिएन । 

आज बिहान शव फेला परेपछि मात्रै सुशील बेपत्ता भएको कुरा खुलेको यादवले जानकारी दिनुभयो । मृतकको शव कीराले खान थालिसकेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । 

घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ । शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाइसकिएको प्रहरीले जनाएको छ । 

सर्लाहीमा केही साताअघि मात्रै कविलासी नगरपालिकाको अगर्वामा एक युवक र पर्सा गाउँपालिकामा एक महिलाको हत्या भएको थियो । प्रहरीले कविलासीका युवकको हत्यामा संलग्न मृतकका भाइसहितका व्यक्ति र पर्सा गाउँपालिकाको महिलाको हत्यामा संलग्न उहाँकै श्रीमान, ससुरा र देवरलाई पक्राउ गरी कारवाही अघि बढाएको जनाएको छ ।