• १९ असार २०८१, बुधबार

बस्तीमै सुरक्षा भत्ता नवीकरण

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन १५ गते । सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घुम्ती शिविरमार्फत घर गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ११ वटै वडामा घुम्ती शिविर चलाइएको हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिनुभयो ।

शारीरिक रूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो घर नजिकै राखिएको घुम्ती शिविरबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक वडामा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरिरहेको नगरप्रमुख बुढाथोकीले बताउनुभयो । 

घुम्ती शिविर अभियानले वडा कार्यालयमा भीड कम हुने नगरपालिका कार्यालयले जनाएको छ । घुम्ती शिविर लिएर वडा सचिव, कार्यालय सहयोगीलगायतका कर्मचारी प्रत्येक बस्तीमा पुग्ने गरेका छन् । कर्मचारीले चौतारी तथा रुखका छहारीमा बसेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायत सामाजिक सुरक्षा भत्ता खाइपाइ आइरहेकाको नवीकरण गरिरहेका छन् । यो अभियानले वडा कार्यालय टाढापर्ने व्यक्तिलाई राहत मिलेको छ । 

जिल्लामा अहिले हरेक पालिकामा सामाजिक सुरक्षा भत्ता नवीकरणको काम भइरहेको छ । हरिवनबाहेक अन्य पालिकामा वडा कार्यालयमा मात्रै नवीकरणको काम भइरहेको छ । जिल्लामा २० वटै पालिकाले बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेका छन् तर बैङ्क र पालिकाबीच राम्रो समन्वय नहुँदा बैङ्कबाट भत्ता लिनका लागि घण्टौँसम्म लाममा बस्नु परेको लाभान्वितले गुनासो गर्दै आएका छन् ।