• १९ कात्तिक २०८१, सोमबार

निबन्धमा अभिवन्दना

blog

नेपाली साहित्यको फराकिलो फाँटमा २०४५ सालमा ‘ललिता’ कवितासङ्ग्रह लिएर प्रवेश गर्नुभएका श्रीओम श्रेष्ठ ‘रोदन’ मूलतः निबन्ध र लघुकथा विधामा अग्रणी मानिनुहुन्छ । मधुपर्क साहित्यिक मासिकको सम्पादकपछि गोरखापत्र दैनिकको निमित्त प्रधानसम्पादक भएर सेवानिवृत्त हुनुभए पनि पत्रकार, साहित्यकार र साहित्यिक अभियन्ताको परिचयले उहाँलाई अग्ल्याइरहेको छ । पछिल्लो चरणमा उहाँको लेखन खासगरी निजात्मक निबन्ध र लघुकथामा केन्द्रित देखिन्छ । त्यसो त नियात्राका क्षेत्रमा पनि उहाँको कलम चलिरहेकै छ र पनि प्रकाशित एक दर्जन कृतिमध्ये निबन्धकृतिकै सङ्ख्या बढी देखिन्छ । यसै सन्दर्भमा पछिल्लो कृति पनि निबन्धकै प्रकाशित छ– अभिवन्द्य ।

‘अभिवन्द्य’ले अभिवन्दना गर्न लायक, आदर तथा सम्मान गर्नुपर्ने भन्ने अर्थबोध गराउँछ । जमाना मपाइँत्त्वको  छ । अर्काको अर्चना गर्न सितिमिति कोही चाहँदैन । अन्य माध्यमले खुसी पारेर वा प्रभावमा पारेर आफ्ना वा आफूले चाहेको व्यक्तिको अर्चना गराउनेहरू चाहिँ नभएका होइनन् । स्वतस्फूर्तः आदरभावले कसैको गुणगान गाउनु भनेको उसबाट राम्रैसँग प्रभावित हुनु हो । भित्रैदेखि उसलाई मन पराउनु हो । रोदनले ‘अभिवन्द्य’ मा आफूलाई प्रभाव पारेका अर्थात् आफूले मन पराएका एकचालीस जना विविध क्षेत्रका व्यक्तित्वलाई समेट्नुभएको छ ।

अघिल्लो पुस्तादेखि आफ्नो पुस्तासम्मका, जीवित र स्वर्गीय लगभग बराबरी तर नारी व्यक्तित्व चाहिँ एक जना मात्र समेटिएको व्यक्ति केन्द्रित निबन्धमा लामो सङ्गत गरेका, सामान्य चिनजानका, अनुहारले भन्दा कामले चिनिएका, भौतिक रूपमा अवसान भएका भए पनि जीवनकालमा गरेका सुकीर्तिले सुनाम फैलाएका व्यक्तित्वलाई उहाँले अभिवन्दना गर्नुभएको छ । थोरै लेखकले मात्र कवितामा र निबन्धमा यस्तो कर्म गरेका छन् । यद्यपि, आत्मपरक शैलीमा सिङ्गो ‘अभिवन्द्य’ कृति प्रकाशित भएको चाहिँ सम्भवतः पहिलो पनि हुनसक्छ ।

निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले प्रस्तुत कृतिमा यसअघि आफैँले लेख्दैआएको शैलीलाई नअँगालेर पूर्णतः भिन्न शैलीको प्रयोग गर्नुभएको छ । यस किसिमको लेखनशैली नेपाली साहित्यमा थोरैले मात्र अँगालेका छन् । यसमध्ये अग्रज निबन्धकार तेजेश्वरबाबु ग्वंगःले यस्तो शैलीको प्रयोग गर्दै आउनुभएको छ । निबन्धकार रोदनको आफ्नो कुरा र ग्वंगःको भूमिकालाई हेर्दा धेरथोर ग्वंगःको यस किसिमको शैलीबाट प्रभावित भएर अपनाएको स्वीकारोक्ति उल्लेख छ । 

२०६२ सालमा रङ्गकर्मी एवं नाटककार प्रचण्ड मल्लको बारेमा पहिलो पटक यस किसिमको शैलीमा व्यक्ति चिनारी लेखेको र त्यसलाई सबैले मन पराएकोले अभियानकै रूपमा लेख्नथालेको बताउनुभएको छ । वाक्य गठन प्रक्रियामा व्याकरण तथा वर्णविन्यासका सामान्य नियमभन्दा भिन्न तरिकाले लेखिएका निबन्ध पढ्दा कवितात्मकझैँ लाग्दछन् । यस्तो शैली आमपाठकका लागि भने पक्कै पनि चाम्रो लाग्ने स्पष्ट छ । 

प्रस्तुत कृतिको ‘घुम्टीखोली’ कार्यक्रमको अवसरमा केही समीक्षकबाट यस्तै किसिमको टिप्पणी आएको पनि थियो । भाषा सम्प्रेषणीय हुनैपर्छ । लेखकले लेख्ने भनेको पाठक कमाउनकै लागि हो । जति धेरै पाठक वृद्धि गर्न सक्यो, उति नै लेखकको सफलता मान्न सकिन्छ तर पुस्तक बिक्रीको आधारमा भने यो मापन हुन सक्दैन । कृतिको गुणवत्ताका आधारमा मात्रै बढी बिक्ने भन्ने हुँदैन । बजार विज्ञापनको आडमा झाङ्गिरहेको पनि हुनसक्छ तर लेखक जहिल्यै आमपाठक लक्षित भइरहेकै हुन्छ र यसो हुनु उसको धर्म पनि हो । रोदनले अभियानकै रूपमा अँगालेको लालित्यपूर्ण शैलीभित्र आफूले यसअघि लेखेका चलनचल्तीको शैलीका व्यक्ति निबन्धहरूलाई पनि पुनः लेखन गरेको बताउनुभएको छ । ‘अभिवन्द्य’मा वि.सं. १९६९ मा जन्मिनुभएको युगकवि सिद्धिचरण श्रेष्ठ, १९७५ सालमा जन्मिनुभएका डायमन शमशेरदेखि लिएर वि.सं. २०२० मा जन्मिनुभएका प्रा.डा. लक्ष्मणप्रसाद गौतम र २०२४ सालमा जन्मिनुभएका कवि तथा कलाकार रमेश श्रेष्ठसम्मको अभिवन्दना गरिएको छ । लेखकलाई यी ४१ पात्रले आ–आफ्नो गुण र शिल्पले प्रभाव पारेका छन् । पूर्णतः परिचित र प्रभावित नभई यसरी गहिराइमा पुगेर विवेचना गर्न सकिने कुरै होइन । कति सङ्गत गरिएका छन्, कति बिना सङ्गत पनि लेख्नैपर्ने गरी मस्तिष्कमा हुटहुटी लगाउन भित्रिएका हुनसक्छन् । 

सिद्धिचरण श्रेष्ठलाई कवितासङ्ग्रहको भूमिका लेखाउन धाउँदाको हैरानी, पत्रपत्रिकामा निस्किएका विभिन्न स्रष्टाका कविता, कथा, नाटक पढेर सुनाउनुपर्ने तर सुन्दासुन्दै कविवरको निदाउने बानीले भूमिका लेखाउने उत्साह नै मरेको यथार्थ रोचक छ । डायमनशमशेर, राष्ट्रकवि माधव घिमिरे, वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, स्वामी प्रपन्नाचार्य, कमलमणि दीक्षित, बालकृष्ण पोखरेल, गोविन्द भट्ट, कृष्णचन्द्रसिंह प्रधान, तेजेश्वरबाबु ग्वंगः, प्रा.डा. कुमारबहादुर जोशी, समाजसेवी बद्रीविक्रम थापा, डाक्टर विहारीलाल श्रेष्ठ माथिको गहिरो लेखनीले पाठकलाई पक्कै पनि प्रभावित पार्दछन् । 

पूर्णप्रसाद ब्राह्मण, उपेन्द्र श्रेष्ठ, शशी भण्डारी, क्या. जनकबहादुर राणा, गोरखबहादुर सिंहजस्ता केही ओझेलमा परेका स्रष्टाको बारेमा उजागर गरेर लेखकले स्याबासी पाउने काम गर्नुभएको छ । वरिष्ठ पत्रकार रामचन्द्र गौतम सहकर्मी नै हुनुहुन्थ्यो । आफ्नै कार्यकक्षमा काम गर्दा गर्दैको अवस्थामा उहाँको निधन भएको थियो । यस्तै, डा. लक्ष्मणप्रसाद गौतम, रमेश श्रेष्ठ र चिन्तामणि योगीसँग कतिपय कामको सिलसिलामा सहकार्य भएको लेखकले उल्लेख गर्नुभएको छ । जसले गर्दा उहाँहरूमाथि कलम चलाउन लेखकलाई सहज भएको अनुभव हुन्छ । एक मात्र नारी व्यक्तित्व समाजसेवी इन्दिरा श्रेष्ठको कर्मसँग प्रभावित भएर अभिवन्दना गरेको लेखकले स्पष्ट पार्नुभएको छ । 

यसरी प्रस्तुत कृतिमा साहित्य, संस्कृति, कलाकारिता, सङ्गीत–गायन, रङ्गकर्म, आध्यात्म, शिक्षा, पत्रकारिता, चिकित्सा, आयुर्वेद, समाजसेवालगायतका क्षेत्रमा लागिपरेर सुनाम कमाएका व्यक्तित्वको गुणदोषसँग आफू जेजति परिचित हुनुभएको छ, त्यसलाई रोदनले सर्लक्क निबन्धमा उतार्नुभएको छ । आत्मपरक निबन्ध, यसमा पनि व्यक्तिवन्दना गरिएको कृति नवीन र पठनीय बनेको छ । २०७८ सालमा प्रकाशित यस कृतिको प्रकाशक पल्लव प्रकाशन प्रा.लि. रहेको छ । मूल्य चार सय रुपियाँ तोकिएको छ भने पृष्ठ सङ्ख्या २८० रहेका छन् ।