• २९ वैशाख २०८३, मङ्गलबार

विद्युत सर्ट भइ गुल्मीको एक घरमा आगलागी

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख २९ गते।
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–६ धाराचौरस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ। अचानक विद्युत लाईन सर्ट भएर स्थानीय टंक महतको घरमा सोमबार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार महतको ढुङ्गा माटोले बनेको जस्ताले छाएको दुई तले कच्ची घरमा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट घर जलेर क्षति हुनुका साथै नगद पाँच लाख ७० हजार रुपियाँ, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचर, क्षति भएको छ।

छ जनाको परिवार बस्दै आएको सो घरमा आगलागी भए पनि मानवीय र चौपाया क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी सहायक निरीक्षक विष्णुबहादुर गाहाको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट करिब तीन किलोमिटर पूर्व पर्दछ।