• २८ वैशाख २०८३, सोमबार

मुसिकोट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड त्रिभुवन माविलाई

blog

ग्वादीकाचौर खेलमैदान मा सञ्चालन भइरहेको खेल प्रतियोगिता । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख २८ गते ।
गुल्मीको मुसिकोट नगरपालिका–४ कुर्घा भुवाचिदीस्थित ग्वादीकाचौर खेलमैदानमा सम्पन्न आठौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन माध्यमिक विद्यालयले जितेको छ ।

त्रिभुवन माविले २३ स्वर्ण, २० रजत र १० कास्यसहित कुल ५३ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो । त्यस्तै २१ स्वर्ण, १३ रजत र पाँच कास्यसहित ३९ पदक जितेर महेन्द्र आदर्श मावि द्वितीय भएको मुसिकोट नगरपालिका ले जनाएको छ ।

पाँच स्वर्ण, चार रजत र तीन कास्यसहित १२ पदक जितेर पृथ्वी मावि तृतीय भएको छ । प्रतियोगितामा नगरभित्रका १६ विद्यालय सहभागी थिए ।

उत्कृष्ट विद्यालयलाई आगामी जेठ २ गते मुसिकोट खेलकुद महामेलाको समापन अवसरमा पुरस्कार प्रदान गरिनेछ । ग्वादीकाचौर खेलमैदानमा सञ्चालन हुने महामेलामा करिब तीन हजार खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।

मुसिकोट नगरपालिकाले नगरस्तरीय दुई तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड गरी तीन खेलकुद प्रतियोगितालाई समेटेर ‘मुसिकोट खेलकुद महामेला’ आयोजना गरेको हो । महामेला वैशाख २५ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

नगरप्रमुख जीवलाल खरेल ‘जीवन’ ले होटल व्यवसायी, होमस्टे सञ्चालक तथा स्थानीयवासीको सहयोगमा खेलाडीको व्यवस्थापन गरिएको बताउनुभयो ।

तीनमध्ये नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेको छ भने सोमबारदेखि १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति गुल्मीले वैशाख २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने महेश काउछा ले जानकारी दिनुभयो ।

चिदीचौर खेलमैदान निर्माणाधीन रहेकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड यसपटक तम्घास बाहिर आयोजना गरिएको हो । यसअघि १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड रुरुक्षेत्र गाउँपालिकाको घिउँबेँसी खेलमैदानमा सम्पन्न भएको थियो ।

महामेलाअन्तर्गत वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म तेस्रो मुसिकोट मेयर रनिङ कप पनि आयोजना गरिनेछ । प्रतियोगितामा पालिकास्तरीय भलिबल प्रतियोगिता समावेश गरिएको छ ।

भलिबलतर्फ विजेताले दुई लाख एक हजार रुपियाँ, उपविजेताले एक लाख ३५ हजार रुपियाँ, तृतीय हुने टोलीले ४० हजार रुपियाँ र सान्त्वना टोलीले २६ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

मेयर कपअन्तर्गत महिला कबड्डी प्रतियोगिता पनि आयोजना गरिनेछ । यसतर्फ विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपियाँ प्राप्त गर्नेछन् । साथै ब्याडमिन्टन प्रतियोगितामा विजेताले २० हजार र उपविजेताले १३ हजार ५०० रुपियाँ प्राप्त गर्ने सन्दीप क्षेत्री ले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटै प्रतियोगितामा करिब तीन हजार खेलाडी ग्वादीकाचौरमा प्रतिस्पर्धा गर्नेछन् ।