• ९ जेठ २०८१, बुधबार

विपद् सूचना प्रवाह गर्न वडामा सञ्चार सेट

blog

गोकर्ण पौडेल   

तुलसीपुर, साउन १३ गते । तुलसीपुर उपमहानगरपालिकाले विपद् प्रतिकार्य योजनाअन्तर्गत प्रत्येक वडामा सञ्चार सेट (वाकीटकी) वितरण गर्नेभएको छ । विपद्को समयमा इन्टरनेट अवरुद्ध भई सुरक्षा टोलीसँग सूचना समन्वय गर्नका लागि सञ्चार सेट वितरण गर्न लागिएको हो । 

त्यस्तै, सूचना प्राप्त गरेर तत्काल उद्धाका लागि आपत्कालीन कार्य सञ्चालन केन्द्र, नगरप्रमुखको सचिवालयमा राख्न थालिएको छ । शसस्त्र वेश क्याम्प दोघर्रे र इलाका प्रहरी कार्यालयमा समेत वाकीटकी राखिने भएको छ । सञ्चार सेट सम्बन्धित वडामा सञ्चार सेटबाट पाँच किलोमिटर दुरीसम्म सूचना प्रदान गर्न सकिने विपद् शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाले वर्षातको समयमा आउने बाढी, पहिरो, डुबानका कारण आउने समस्या समाधानका लागि एक वटा डोजर टिप्पर २४ घण्टा तयारी अवस्थामा राखेको छ । २०७१ साल यता जिल्लामा आएको बाढी पहिरोका कारण ७१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो, आगलागीका कारण जिल्लामा दुई हजार ७६ घरधुरी प्रभावित बनेका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले परिपत्र गरेअनुसार प्रत्येक वडामा विपद् प्रतिकार्य योजनाका लागि आवश्यक पर्ने सामग्री वितरण गर्ने भएको छ ।  डोरी, बन्चरो, बेल्चा, गैती, घनलगायतका सामग्री १९ वटै वडामा वितरण गरिने प्रमुख डाँगीले बताउनुभयो ।