• ९ जेठ २०८१, बुधबार

नेपालको परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ छ : डा. केसी

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १३ गते । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताउनुभएको छ । ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । 

एमसीसी आइपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस बारेमा स्पष्ट हुन आवश्यक रहेको उहाँले बतउनुभयो । व्याख्यात्मक टिप्पणी भनेर लाज छोप्ने आधारमा एमसीसी पास गरिएको उहाँले बताउनुभयो । सरकारका पछिल्ला गतिविधिबाट एमसीसी आइपीएसको अङ्ग हो वा होइन भन्ने कुरामा विश्वस्त हुनसक्ने स्थिति नरहेको उहाँको भनाइ छ । 

सरकारले कतै एमसीसी पास गरेर आइपीएसको अंग हुने बाटो खनिरहेको त होइन ? उहाँले जिज्ञासा गर्नुभयो । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एसपीपी भित्रभित्रै फरक नाममा ल्याउन लागिएको आशंका गर्नुभयो । 

विज्ञ केसीले नेपालमा बीआरआईलाई बुझेर नै पश्चिमा देशहरुले नेपाललाई बढी नियालीरहेको बताउनुभयो । “अमेरिकाका राजनीतिक र सैनिक अधिकारीको बाक्लिदो नेपाल भ्रमणले जनतामा विभिन्न संशय पैदा गरेको छ” डा. केसीले भन्नुभयो, “विगतमा सबै दलको सहमतिमा बीआरआईमा हस्ताक्षर भएको थियो ।” 

बीआरआईमा हस्ताक्षर गर्दा देशमा पुष्पकमल दाहाल नेतृत्वको सरकार भएको र सो बेला काँग्रेस नेता प्रकाशशरण महत परराष्ट्रमन्त्री रहेको उहाँले स्मरण गर्नुभयो । बीआरआईमा नेपाल संलग्न भएकै कारण पश्चिमा देशले नेपाललाई बढी नियालीरहेको पनि उहाँले दावी गर्नुभयो ।