• २५ वैशाख २०८३, शुक्रबार

दर्ता अनुमतिबिना क्रसर सञ्चालन

blog

नवीनराज कुइँकेल

लमजुङ, वैशाख २५ गते । लमजुङको राइनास नगरपालिका अन्तर्गत रहेको चेपे नदी किनारमा दर्ता अनुमतिबिनै क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनका क्रममा उनीहरूले दर्ता र अनुमतिबिना नै क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको हो । राइनास नगरपालिका–६, स्याउलीस्थित चेपेघाट वरपर सञ्चालनमा रहेका तीन वटा क्रसर उद्योग जिल्लामा दर्ता गर्ने निकायमा दर्ता नै नगरी र अनुमति लिनुपर्ने निकायमा अनुमति नै नलिई सञ्चालन गरिरहेको पाइएको हो । सञ्चालकले संयुक्त लगानीका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको तर सम्बन्धित निकायमा उद्योग दर्ता नै नगरी र अनुमति नै नलिई सञ्चालन गरेको पाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अनुगमनका क्रममा तीन वटै क्रसर उद्योग दर्ता नगरी र सञ्चालन अनुमति नै नलिई सञ्चालन गरेको पाइयो । दर्ता र अनुमति लिएको भए प्रमाण ल्याउन भनेका छौँ ।” उहाँका अनुसार सञ्चालनमा रहेका क्रसर उद्योग मापदण्डभित्रका पनि छैनन् । जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ नेतृत्वको जिल्लास्तरीय अनुगमन समितिले एग्रो डाइमन्ड कन्स्ट्रक्सन प्रालि, मङ्गलमार्ग कन्स्ट्रक्सन एन्ड क्रसर प्रालि र चम्पावती रोडा, ढुङ्गा, बालुवा प्रशोधन केन्द्र गरी तीन वटा क्रसर उद्योग अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगका सञ्चालकलाई उद्योग स्थलमा बोलाए पनि कतिपय सञ्चालक नआएको अनुगमन समितिले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्रका विकास अधिकारी, डिभिजनल वन अधिकृत दीपकप्रसाद पण्डित, प्रमुख कोष नियन्त्रक भवराज जोशी, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, राइनास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मी, इन्जिनियरलगायतले क्रसर उद्योगको अनुगमन गर्नुभएको थियो । जिल्ला समन्वय अधिकारी महेश सुवेदीका अनुसार नेपाल सरकारले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ ले तोकेबमोजिमको मापदण्ड पूरा गरे नगरेको अनुगमन गरिएको छ । क्रसर उद्योगमा कैफियत देखिएकाले उद्योग दर्ता तथा नवीकरण, इजाजतपत्र तथा अन्य कागजात जिल्ला अनुगमन समितिमा पेस गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । समितिका अनुसार एग्रो डाइमन्ड कन्स्ट्रक्सन प्रालिलाई २०७६ मा राइनास नगरपालिकाले मोबाइल क्रसर स्थापना गर्न भनी अनुमति दिएको देखिएको छ । स्रोतका अनुसार अन्य निकायमा अनुमति लिएको र नवीकरण गरेको देखिँदैन । क्रसर उद्योगहरूले नदी छेउछाउमै सञ्चालनमा रहेका क्रसर उद्योगले नियमविपरीत चेपेखोलाका ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन गरेका छन् । ती उद्योग झन्डै एक महिनादेखि चलेका छैनन् । चम्पावती रोडा, ढुङ्गा, बालुवा प्रशोधन केन्द्रमा एक जना सञ्चालक वडाध्यक्ष गोविन्द चिलुवालसमेत रहेको अनुगमन टोलीले बताएको छ ।

क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमनसम्बन्धी प्रक्रिया तथा मापदण्ड, २०७७ अनुसार क्रसर उद्योग राजमार्ग, खोला वा नदी किनारबाट पाँच सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई किलोमिटर टाढा हुनुपर्ने उल्लेख छ । पक्की पुलबाट पाँच सय मिटर, अन्तर्राष्ट्रिय सीमाबाट दुई किलोमिटर, वन तथा निकुञ्ज वा आरक्षण, घनाबस्ती, हाइटेन्सन लाइनबाट दुई सय मिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर तथा चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर टाढा मात्रै क्रसर उद्योग स्थापना वा सञ्चालन गर्न सरकारले अनुमति दिने गर्छ । सरकारले २०८० मा यसलाई सच्याउँदै मापदण्ड आधा घटाएको थियो । आधा घटाए पनि क्रसर उद्योगले सञ्चालन अनुमति लिएनन् । अहिले पुनः पहिले (२०७७) कै मापदण्ड लागु गरिएको छ । यो मापदण्ड चेपे नदी किनारका क्रसरले पालना नगरेको र अनुमति पनि नलिएको पाइएको अनुगमन अधिकारीले बताएका छन् ।