• १५ वैशाख २०८३, मङ्गलबार

कमला नदीको अस्थायी बाँध भत्किँदा आवतजावत अवरुद्ध

blog

सिरहा–धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी बाँध भत्किइयो । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, वैशाख १५ गते ।
मधेशको जीवनरेखा मानिने हुलाकी मार्गअन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी बाँध लगातार दुई दिनको वर्षापछि पानीको सतह बढ्दा भत्किएको छ । बाँध भत्किएसँगै केही समय आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पुलको डाइभर्सनभन्दा करिब तीन सय मिटर अगाडि निर्माण गरिएको बाँध बीचमै भत्किएपछि सर्वसाधारण र सवारी साधन सञ्चालनमा समस्या भएको स्थानीयले बताएका छन् । सिरहा नगरपालिका–५ का वडाध्यक्ष जागेश्वर यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारी साधन बीच बाटोमै फसेका थिए, जसलाई स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार तत्कालै जेसीबी प्रयोग गरी माटो हालेर समस्या अस्थायी रूपमा समाधान गरिएको छ । वर्षातको समयमा दीर्घकालीन समाधानका विषयमा सिरहाका चार निर्वाचन क्षेत्रमध्ये सिरहा–१ का बब्लु गुप्ता, सिरहा–२ का शिवशंकर यादव र सिरहा–३ का डा. शम्भुकुमार गुप्तासँग छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार वर्षायाममा समस्या समाधान नभए यस वर्ष पनि कमलापारिका किसानहरूलाई खेतीपातीमा कठिनाइ हुने चिन्ता बढेको छ । १४ वर्षअघि पुल निर्माणको ठेक्का लागे पनि हालसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । २०७८ असार १७ गते आएको बाढीले निर्माण सम्पन्न भई उद्घाटनको तयारीमा रहेको पुल भासिएको थियो ।

कमला पुल निर्माणका लागि २०६८ जेठमा लुम्बिनी जेभीसँग १४ करोड ९१ लाख रुपियाँमा सम्झौता गरिएको थियो । २०७१ मङ्सिरमा सम्पन्न हुनुपर्ने उक्त पुल हालसम्म प्रयोगविहीन छ । सात पटकसम्म म्याद थप भइसकेको पुल निर्माणमा २० करोड ४३ लाख रुपियाँ खर्च भइसकेको छ ।

कमला पुलको पुनर्निर्माण तथा तत्कालीन समस्या समाधानका लागि सिरहाका प्रतिनिधिसभा सदस्यहरू बब्लु गुप्ता, शिवशंकर यादव, डा. शम्भुकुमार यादव, तपेश्वर यादव र समानुपातिक सांसद पुरुषोत्तम यादवले पहल गरिरहेको जनाइएको छ ।