राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख ९ गते । स्याङ्जाको वालिङ नगरपालिकाले बिहान ९ बजेबाट नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले वैशाख २१ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको भए पनि वालिङले वैशाख १० गतेबाट नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
मङ्गलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालयको समय र सञ्चालन हुने मितिको टुङ्गो लगाएको हो । जसअनुसार अव विद्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ भने शनिबार र आइतबार बिदा हुने छ ।
नेपालको संविधान तथा प्रचलित कानून अनुसार आधारभूत र माध्यामिक तहको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएको भन्दै नियमित पठनपाठन गर्ने निर्णय गरेको नगरप्रमुख कृष्ण खांणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले वैशाख २१ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको भए पनि स्थानीय परिवेश फरक रहेको छ त्यसैले हामीले विद्यालय सञ्चालन गर्ने निर्णय गर्यौं ।”
जिल्लाको फेदीखोला गाउँपालिकामा बुधबारबाट र चापाकोट नगरपालिकामा १२ गतेबाट विद्यालय सञ्चालन हुँदैछन् । यसैबिच जिल्लाका संस्थागत (निजी) विद्यालयले भने सोमबारबाट नै नियमित पठनपाठन सुरु गरेका छन् ।