• ९ वैशाख २०८३, बुधबार

चार जनालाई ‘वानीरा पुरस्कार’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ९ गते । वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले नेपाली भाषा साहित्यको सिर्जनामा साढे सात दशकदेखि साधनारत माधव खनाल ‘भावुक’ लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गर्नुभयो ।

कार्यक्रममा गिरीले कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरे । शाक्यले आफ्नै स्रोतसाधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपि निर्माणका साथै कृत्रिम बौद्धिकतामा आधारित यन्त्रमानवको आविष्कार गर्दै अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनुभयो । 

दुवै पुरस्कारसहित जनही नगद राशि एक एक लाख रुपियाँ प्रदान गरिएको हो । फाउन्डेसनका संरक्षक गिरीले ‘आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित रही नेपाली भाषा साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत सर्जक धनराज गिरीलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्नुभयो । फाउन्डेसनले सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गरेको छ ।