राधा लुइटेल
फिदिम, वैशाख ३ गते । फालेलुङ गाउँपालिका–४ स्थित चाररातेको उच्च हिमाली चौरमा आयोजित नवौँ चौँरी पर्यटन महोत्सव बुधबार सकिएको छ । चैत ३० गते सुरु भएको महोत्सवमा चौँरी हेर्न यस वर्ष गत वर्षभन्दा दोब्बर बढी पर्यटक आएका थिए ।
समुद्री सतहदेखि करिब तीन हजार ४५० मिटर उचाइमा अवस्थित यस क्षेत्रमा आयोजना गरिएको नवौँ चौँरी पर्यटन महोत्सवको मुख्य दिन अर्थात् वैशाख १ गते मौसम प्रतिकूल भए पनि नेपाल, भुटान र भारतसहित विभिन्न मुलुकबाट आएका १० हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटकले महोत्सव अवलोकन गरेको आयोजकको दाबी छ ।
यस वर्ष नेपालका बुटवल, हेटौँडा, पोखरा, काठमाडौँ र धरानसम्मका मोटरसाइकलचालकसँगै चारचक्के साधन प्रयोग गरेर पर्यटक यहाँ आइपुगेका थिए ।
महोत्सव उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङले हिमाली क्षेत्रको पहिचानसँग गाँसिएको चौँरी संरक्षण र पर्यटन प्रवर्धनबिचको सम्बन्ध महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
वैशाख १ गते बिहानैदेखि हुस्सु लाग्नुका साथै चिसो हावा चल्दा यहाँ पुगेका आन्तरिक र बाह्य पर्यटकले सास्ती बेहोर्नु परेको थियो । बाटोमा जतिसुकै सास्ती बेहोरे पनि यहाँ आइपुगेपछि स्वर्गीय आनन्दको अनुभूति गरेको पोखराबाट आएका विवेक शर्माले बताउनुभयो ।
“कच्ची र उकालो बाटो, बाक्लो हुस्सु, चिसो हावा र अनिश्चित मौसम पार गर्दै यहाँ आइपुगिसकेपछि देखिने दृश्यले यात्राको सम्पूर्ण थकान मेटाइदियो,” उहाँले भन्नुभयो ।
हरियो चौरमा चरिरहेका विभिन्न जातका याक र चौँरी, उत्तरतर्फ देखिने हिमशृङ्खला, आसपास फैलिएका गुराँसे वन र क्षण क्षणमा बदलिने मौसमले चारराते पुग्ने आफूलाई मोहित बनाएको उहाँको भनाइ छ ।
यस वर्ष महोत्सव अवधिभर मौसम पूर्ण रूपमा अनुकूल हुन सकेन । कहिले हुस्सु, कहिले पानी, कहिले असिना त कहिले हल्का हिमपात जस्तो अवस्थाबिच पनि पर्यटकको उत्साह भने नघटेको महोत्सव आयोजक फालेलुङ याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङले बताउनुभयो । उहाँका अनुसार गत वर्ष यहाँ पाँच हजार पाँच सय पर्यटक आइपुगेका थिए । यस वर्ष सङ्ख्या बढेर १० हजार पुगेको छ । चौँरी संरक्षण तथा प्रवर्धनका लागि फालेलुङ गाउँपालिकाको अगुवाइमा आयोजना हुँदै आएको यस महोत्सवमा यस वर्ष गाउँपालिकाभित्रका ३२ वटा गोठबाट छ सयभन्दा बढी चौँरी ल्याएर प्रदर्शन गरिएको थियो ।
महोत्सवमा चौँरीसँगै भेडा र चौँरीको दुधबाट बनेका परिकार, घिउ, छुर्पीलगायत दुग्धजन्य सामग्री तथा चौँरीको रौँबाट बनेका कपडा र हस्तकलाका सामग्री पनि प्रदर्शनीमा राखिएका थिए । चौँरीलाई हिमालको प्रतीकका रूपमा लिइन्छ । पछिल्लो समय चौँरीपालन घट्दै जान थालेपछि यसको संरक्षण र युवापुस्तालाई आकर्षित गर्ने उद्देश्यले २०७४ सालदेखि प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा चौँरी महोत्सव आयोजना हुँदै आएको छ । फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार चौँरी संरक्षणले केवल पशुपालन मात्र नभई हिमाली पारिस्थितिकीय, सीमाक्षेत्रको बसोबास र पर्यटन प्रवर्धनसँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ ।