रामकृष्ण बोहरा
बागलुङ, वैशाख २ गते । ठेकेदारको लापरबाहीले पटक पटक अलपत्र परिरहेको दक्षिण बागलुङको कुश्मीसेरा–रुम्टा हुँदै राङखानी जाने सडक निर्माणका लागि स्थानीयले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसअघि स्थानीयले सडकमै आन्दोलन गरेकोमा प्रदेश सरकारले उक्त सडक समयमा निर्माण गर्ने आश्वासन पाएपछि फर्केका थिए । सडक कालोपत्र गर्ने काम फेरी रोकिएपछि आक्रोशित स्थानीयले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फेरी ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका नेता भीम श्रीष नेतृत्वमा गत वर्ष दुई सातासम्म सडक आन्दोलन, जिल्ला प्रशासन घेराउ, मुख्यमन्त्री कार्यालय घेराउ लगायतको आन्दोलन गरेर पनि सडक नबनेपछि फेरी उनीहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराउन बाध्य भएको बताएका छन् ।
सडक निर्माणमा ढीलासुस्ती हुँदा जैमिनी र बरेङबासीले दैनिक सास्ती खेप्दै आएका छन् । श्रीषकै संयोजकत्वमा गठन भएको संघर्ष समितिले जिल्लाका अन्य नेतालाई पनि साछी राखेर मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।
ध्यानाकर्षण गर्न स्वास्थ्यमन्त्री कृष्ण पाठक, प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, एमाले नेता हिरा बहादुर केसी लगायतका नेता पनि सहभागि हुनुहुन्थ्यो । टोलीले मुख्यमन्त्री पाण्डेसहित भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई पनि ध्यानाकर्षण गराएका थिए ।
यो सडकको रुम्टाखोलामा पक्की पुल समेत बनिसकेको छ । तर सडक अप्ठ्यारो भएकोले नियमित सवारी चल्न समस्या छ । पछिल्लो समय बागलुङ बजारदेखि बरेङ गाउँपालिकाका लागि नियमित बस सेवा समेत सञ्चालनमा छ । तर यो खण्डको अप्ठ्यारोले स्थानीयले सास्ती खेप्दै आएका छन् । राङखानीको नाम्दुकदेखि बरेङसम्म भने सडक कालोपत्रे छ ।
दक्षिण बागलुङको मेरुदण्ड मानिने बागलुङ–कुश्मीसेरा–राङखानी–बरेङहुँदै शान्तिपुर जोड्ने सडकको कुश्मीसेरादेखि राङखानी देवलधारासम्मको १० किलोमिटर सडकखण्ड अलपत्र छ । उक्त सडक खण्ड निर्माणको जिम्मा लिएको शर्मा क्याराभान जेभी प्रा.लि. लामो समयदेखि सम्पर्कविहीन भएको कारणले गर्दा सडक निर्माण कार्य अलपत्र अवस्थामा पुगेको छ ।