काठमाडौँ, वैशाख १ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष २०८३ को आज शुभकामना सन्देश दिँदै उहाँले नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न प्रेरणाको कामना गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई समयानुकूल रूपान्तरण गर्नु पनि अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । उहाँले समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ सङ्कल्पसहित अघि बढ्न सबैमा आह्वानसमेत गर्नुभएको छ ।
सन्देशमा उहाँले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको उल्लेख गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकतामा राख्नु अहिलेको आवश्यकता रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । रासस