• १ वैशाख २०८३, मङ्गलबार

नौ महिनापछि ताँजाकोट गाउँपालिकामा अनुदानको नुन पुग्यो

blog

ताँजाकोट गाउँपालिकामा आइपुगेको नुन गोदाममा। तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, वैशाख १ गते ।
बाजुरा जिल्लासँग सिमाना जोडिएको हुम्लाको दक्षिणी क्षेत्रस्थित ताँजाकोट गाउँपालिकामा चालु आर्थिक वर्ष सुरु भएको नौ महिनापछि नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ढुवानी अनुदानको नुन पुगेको छ।

ढुवानीको जिम्मा लिएको सप्लायर्सले ढिलाइ गरेपछि यति धेरै समयपछि गाउँपालिकामा नुन आइपुगेको हो। पहिलो चौमासिकभित्रै ढुवानी हुनुपर्ने नुन अहिले मात्र गाउँपालिका केन्द्रमा पुगेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले बताउनुभयो।

उहाँका अनुसार यस वर्ष उक्त बिक्री केन्द्रका लागि ४७९ क्विन्टल नुनको कोटा निर्धारण गरिएकोमा हालसम्म ३४० क्विन्टल ढुवानी भएर आइपुगेको छ। बाँकी १३९ क्विन्टल नुन पनि सप्लायर्सले छिट्टै ढुवानी गर्ने जनाएको उहाँले बताउनुभयो।

बाँकी नुन ताँजाकोट गाउँपालिकामा आइपुग्नेबित्तिकै गाउँपालिकाले प्रत्येक घरधुरीलाई बिक्री–वितरण गर्नेछ। गत वर्ष सो गाउँपालिकाका स्थानीयले प्रतिघर ५० केजी नुन पाएका थिए। स्थानीयका अनुसार एक वर्षपछि फेरि नुन पाउन लागिएको हो।
हुम्लामा साल्ट ट्रेडिङको ढुवानी अनुदानको नुन प्रतिकेजी नौ रुपियाँमा बिक्री हुने गर्दछ।