• १ वैशाख २०८३, मङ्गलबार

गर्भवतीलाई भिडियो एक्सरे सुविधा

blog

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), वैशाख १ गते । बर्दियाको बारबर्दिया नगरपालिकाभित्रका गर्भवती महिलाले वडा वडामै भिडियो एक्सरे सेवा पाएका छन् । बारबर्दिया नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका गर्भवती महिलाको स्वास्थ्य सुरक्षाका लागि यस्तो सेवा दिइरहेको छ । सुरुका दिनमा यो सेवा नगर अस्पतालबाट दिने व्यवस्था गरिएको थियो । हाल आएर निःशुल्क भिडियो एक्सरे सेवा अहिले वडास्तरसम्म पुगेको छ । वडामा सञ्चालनमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा दिने गरिएको छ । प्रत्येक महिना पाँच वटा स्थानमा भिडियो एक्सरे सेवा दिने गरेको बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बताउनुभयो । 

आर्थिक वर्ष २०८०/८१ देखि यो कार्य्रक्रम सञ्चालन गरिएको हो । सुरुको समयमा सेवाग्राही कम आउने गरे पनि पछिल्लो समयमा सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्षको चैतसम्म ८१४ गर्भवतीले यो सेवा लिइसकेका छन् । अघिल्लो आव २०८१/८२ मा ५१९ जनाले भिडियो एक्सरे सेवा लिएका थिए । सुरुको वर्ष आव २०८०/८१ मा ३०५ जनाले सेवा लिएका थिए । सेवा प्रभावकारी भएकाले पनि भिडियो एक्सरे गराउने गर्भवतीको सङ्ख्या बढ्दै गएको पौडेलले बताउनुभयो । भिडियो एक्सरे सेवा सुरु भएपछि गर्भवती महिला र बच्चाको स्वास्थ्य जाँचका लागि सहज भएको सेवाग्राही बताउँछन् । बारबर्दिया नगरपालिका–६, गुलराकी सेवाग्राही रेखा चौधरीले वडामै निःशुल्क भिडियो एक्सरे सेवा पाएपछि आफू जस्ता महिलालाई सहज भएको बताउनुभयो । समय समयमा बच्चाको अवस्था कस्तो छ भनेर जाँच गर्न वडामा आउने गरेको पनि उहाँले बताउनुभयो । 

बारबर्दिया नगरपालिका–६, गुलराकी महिला स्वास्थ्य स्वयंसेविका कल्पना चौधरीले घरबाट टाढाको अस्पतालमा भिडियो एक्सरे गर्न जान नसक्ने गर्भवतीका लागि वडास्तरमा प्रदान गरिएको यो सेवाले सहज भएको बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविका नगरस्तरीय सञ्जालकी अध्यक्ष कमला ज्ञवालीले वडा वडामा गरिने भिडियो एक्सरे पछिल्ला वर्षमा निकै प्रभावकारी भएको दाबी गर्नुभयो । 

बारबर्दिया नगर अस्पतालकी अनमी शान्ति शाहले तीन महिना पुगेपछि गर्भवती महिलाको भिडियो एक्सरे गर्ने गरेको बताउनुभयो । उहाँले बच्चाको धड्कन, सालनाल र पाठेघरको कुन स्थानमा बच्चा छ भन्ने कुरा हेर्ने गरेको बताउनुभयो । उहाँले स्वास्थ्य जाँच गर्दा बच्चा सालमा अल्झेको, तौल कम वा बढी भएको र बच्चा पूर्ण नभएको समस्या पत्ता लाग्ने गरेको बताउनुभयो । 

भिडियो एक्सरेमार्फत तीन महिना नपुगेको गर्भमा बच्चाको राम्रो विकास नभएको फेलासमेत पर्ने गरेको उहाँले बताउनुभयो । त्यस्तो अवस्था भए थप जाँचका लागि ठुलो अस्पतालमा पठाउने र त्यहाँ उपचारपछि आमा र बच्चाको ज्यान जोगिएको धेरै घटना भएको बताउनुभयो ।