• १ वैशाख २०८३, मङ्गलबार

धमाधम सरकारी कार्यालयको पुनर्निर्माण

blog

भूकम्पले क्षतिग्रस्त भएका सरकारी भवन तीन वर्षपछि निर्माण हुँदै । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, वैशाख १ गते । भूकम्पका कारण क्षतिग्रस्त जाजरकोटका सरकारी कार्यालयको पुनर्निर्माण थालिएको छ । तीन वर्षअघि भूकम्पका कारण क्षतिग्रस्त भएका जिल्ला प्रशासन, जिल्ला समन्वय समितिसहित २२ वटा सरकारी भवन सघन सहरी तथा भवन निर्माण आयोजनाले पुनर्निर्माण थालेको हो ।  सघन सहरी तथा भवन निर्माण आयोजनाद्वारा जिल्ला समन्वय समितिको भवन, जाजरकोट अस्पताल, भेरी नगरपालिका–१, मैदे सामुदायिक क्लिनिक, जिल्ला समन्वय समितिको कार्यालय, कृषि विकास कार्यालय, जिल्ला कारागार, कुसे गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी, जिल्ला प्रशासन कार्यालय आवास, जिल्ला हुलाक कार्यालयका भवन धमाधम पुनर्निर्माण भइरहेका छन् । 

स्वास्थ्य कार्यालय भवन, सघन सहरी विकास कार्यक्रम अन्तर्गत छेडागाड नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम, सघन सहरी विकास कार्यक्रम अन्तर्गत नलगाड नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमका भवन निर्माणाधीन अवस्थामा छन् । 

जिल्ला अदालत, सेतो र रातो दरबार, आयोजना कार्यान्वयन एकाइ कार्यालय भवन पुनर्निर्माण गर्न बहुबर्से स्वीकृतका लागि पठाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी पूर्णप्रसाद शर्माले बताउनुभयो । शिवालय गाउँपालिका–३ स्थित प्रसूति कोठा निर्माण, सीमा राकमा स्वास्थ्य चौकी जुनीचाँदे गाउँपालिका–१, मजकोट, बढ्कुले स्वास्थ्य चौकी भवन पुनर्निर्माणका लागि मूल्याङ्कनको चरणमा रहेका छन् । 

नलगाड नगरपालिका–५, कालिमाटी, सिके, लिम्सा, मुल्साम सडकखण्ड स्तरोन्नति, जिल्ला कारागार कार्यालय आवास भवन, कुसे गाउँपालिका–७, समाइला आधारभूत स्वास्थ्य केन्द्र भवन, कृषि विकास कार्यालय आवास भवन पुनर्निर्माण सम्पन्न भएको । सरकारी भवन निर्माण गर्न सघन सहरी तथा भवन निर्माण आयोजनासँग सात वटा योजना २०८१ असार, माघ र चैतमा सम्झौता गरेका छन् । सात वटा योजना २०८२ वैशाख, असार, भदौ, असोज, कात्तिकमा निर्माण व्यवसायीले सम्झौता गरी धमाधम काम गरिरहेका छन् । सम्झौता अनुसार काम सम्पन्न गर्न पनि कार्यालयले ताकिता गरिरहेको छ । 

२४ वटा योजना निर्माणमा ३५ करोड रुपियाँ ठेकेदारसँग सम्झौता भई काम भइरहेको छ । बाँकी ३२ करोड रुपियाँ योजना स्वीकृत भएपछि प्रक्रिया अघि बढाउने आयोजना प्रमुख  खड्गबहादुर चौधरीले बताउनुभयो । सरकारी कार्यालयका भवनमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या पर्दै आएको छ । तीन वर्षपछि सरकारी भवन धमाधम निर्माण हुन थालेका छन् । सरकारी कार्यालयका भवन निर्माण हुँदै गर्दा सरकारले जनताका निजी आवास निर्माणको कामप्रति बेवास्ता गरेपछि टिनको छानामुनि दिनरात बिताउनु परेको छ । भूकम्पले भत्किएका, चर्किएर बस्न नमिल्ने भएका सरकारी भवन पुनर्निर्माण भइरहँदा सेवा लिन जनताले सास्ती पाएका छन् । 

जाजरकोटस्थित करिब सात सय घरपरिवारका लागि कोल्चौर एकीकृत बस्ती विकास कार्य कार्यान्वयन हुन नसक्ने जनाइएको छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय भवन पुनर्निर्माणका लागि जग्गा नहँुदा बजेट उपलब्ध भए पनि सम्झौता नभएको सघन सहरी तथा भवन निर्माण आयोजना प्रमुख खड्गबहादुर चौधरीले बताउनुभयो ।