मुगु, वैशाख १ गते । नाग्म–गमगढी सडकअन्तर्गत सिँजाको रोकायावाडा खोलामा निर्माण गरिएको पक्की पुल मुआब्जा विवादका कारण अझै सञ्चालनमा आउन सकेको छैन।
जुम्लाको सडक डिभिजन कार्यालयको लगानीमा तथा निर्माण कम्पनी हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल दुई वर्षअघि निर्माण सम्पन्न भए पनि हालसम्म सवारीसाधन सञ्चालनमा आउन सकेको छैन।
कनकासुन्दरी गाउँपालिकाअन्तर्गतका जग्गाधनीहरू लक्ष्मीप्रसाद उपाध्याय, छक प्याकुरेल तथा जलजली प्याकुरेलले जग्गाको मुआब्जा नपाएको भन्दै पुल सञ्चालनमा अवरोध गर्दै आएका छन्। पुल निर्माणका क्रममा करिब ५८८.७५ वर्गमिटर खेतीयोग्य जमिन ओगटिएको बताइएको छ।
जग्गाधनी लक्ष्मीप्रसाद उपाध्यायले भन्नुभयो, “सम्बन्धित निकायबाट मुआब्जा नपाएसम्म पुलबाट सवारीसाधन चल्न दिने छैनौँ।”
पुल सञ्चालनमा नआउँदा स्थानीयवासी समस्यामा परेका छन्। छायानाथ रारा नगरपालिका–४ का स्थानीय टंकप्रसाद भामका अनुसार दुई वर्षअघि नै ढलान गरिएको पुल अझै चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनका लागि खुला नभएकाले खोलाबाटै आवतजावत गर्नुपर्ने बाध्यता छ। उहाँले पुल सञ्चालनमा नआउँदा सदरमुकाम मुगु तथा रारा घुम्न आउने पर्यटकसमेत खोलाबाट यात्रा गर्न बाध्य भएको गुनासो गर्नुभयो।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले पुल निर्माणका क्रममा खोलाभन्दा माथिल्लो भागमा संरचना बनेकाले जग्गाधनीको धेरै जमिन प्रभावित भएको र त्यसै कारण समस्या उत्पन्न भएको बताउनुभयो। उहाँका अनुसार मुआब्जा समाधानका लागि सडक विभागको टोली गत माघ महिनामा फिल्डमै आएको थियो र उक्त टोलीले मुआब्जा प्रक्रिया अघि बढाउने आश्वासन दिएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका कर्मचारी प्रदीप चौधरीका अनुसार रोकायावाडा पुल तत्काल सञ्चालनमा ल्याउन कार्यालयले आवश्यक पहल गरिरहेको छ।