अमरराज नहर्की
तनहुँ, चैत ३० गते गते । व्यास नगरपालिकाले सोमबार आफ्नो ३४ औँ वार्षिक स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाउँदै छ । स्थापना दिवसको अवसरमा नगरपालिकाले आज एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको गत चैत २२ गते बसेको कार्यपालिका बैठकले स्थापना दिवसलाई विशेष बनाउने निर्णय गर्दै आज बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालद्वारा जारी सूचनामा उल्लेख छ ।
बिदाका कारण आज नगरपालिकाको मुख्य कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालयहरू र नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरू पूर्ण रूपमा बन्द रहनेछन् । यद्यपि, नगरवासीको सेवाका लागि अत्यावश्यक सेवाहरू भने यथावत् रूपमा सञ्चालनमा रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्थापना दिवसको उपलक्ष्यमा आज दमौलीमा विशेष समारोहसमेत आयोजना गरेको छ। उक्त कार्यक्रममा नगरपालिकाको समग्र विकासका लागि योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्ति तथा सरोकारवालाहरूलाई सम्मान गरिने, सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने र नगरपालिकाको वार्षिक प्रगति विवरण सार्वजनिक गरिने कार्यक्रम तय भएको छ ।
नगरपालिकाले आफ्नो स्थापना दिवसलाई स्थानीयवासीसँगको सहकार्य बलियो बनाउने र आगामी दिनको विकासका लागि प्रतिबद्धता नवीकरण गर्ने अवसरका रूपमा लिएको छ । स्थापना दिवसको कार्यक्रम जिल्ला सभाहल दमौलीमा गरिएको छ ।