• २९ चैत २०८२, आइतबार

गहुँ र चैते धानको समर्थन मूल्य बढ्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २९ गते । सरकारले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । 

मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गहुँ प्रतिक्विन्टल तीन हजार ९४५ रुपियाँ निर्धारण गरेको छ । गत आवमा गहुँको मूल्य तीन हजार ८६७ रुपियाँ निर्धारण गरिएको थियो । गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपियाँ बढी मूल्य निर्धारण गरिएको छ । 

यस्तै चैते धान प्रतिक्विन्टल दुई हजार ८५६ रुपियाँ ४९ पैसा मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । गत वर्ष प्रतिक्विन्टल दुई हजार आठ सय रुपियाँ ६९ पैसा निर्धारण गरिएको थियो । गत वर्षको तुलनामा चैते धान प्रतिक्विटल ५५ रुपियाँ मूल्यवृद्धि भएको मन्त्रालयले जनाएको छ ।  

यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो । १८ प्रतिशतभन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल एक किलो दुई सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ ।

सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि तथा प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ । गहुँ र चैते धान थन्क्याउने समयअगाडि नै किसानलाई उचित मूल्य उपलब्ध गराउन समर्थन मूल्य निर्धारण गर्ने गरिएको छ । सरकारले प्रत्येक वर्ष खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ । 

मन्त्रालयका अनुसार मुलुकभर सात लाख हेक्टर क्षेत्रमा २१ लाख मेट्रिक टनदेखि २२ लाख मेट्रिक टन गहुँ उत्पादन हुने गर्छ । यस्तै एक लाख २० हजार हेक्टर क्षेत्रफलमा पाँच लाख मेट्रिक टन चैते धान उत्पादन हुने गर्छ । 

बर्से धानको उत्पादकत्व करिब ३.५ मेट्रिक टन प्रतिहेक्टर रहेकोमा चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.५ देखि ५.२ मेट्रिक टन रहेको छ । खाद्यान्नमा आत्मनिर्भर नहुँदा बर्सेनि ठुलो परिमाणमा गहुँ आयात हुने गर्छ । मुलुकभर वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक पर्नेमा अझै १० लाख मेट्रिक टन अपुग रहेको मन्त्रालयले जनाएको छ ।