बनेपा समाचारदाता
बनेपा, चैत २८ गते । काभ्रेपलाञ्चोकको बनेपामा सञ्चालित दुई वटा एजुकेसनल कन्सल्टेन्सी (शैक्षिक परामर्श कम्पनी) मा सिल गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोक, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास कार्यालयको टोलीले शुक्रबार गरेको अनुगमनका क्रममा अवैध रूपमा सञ्चालित दुई वटा कन्सल्टेन्सीमा सिल गरिएको हो ।
एकाइ प्रमुख सविता दङ्गालले अवैध रूपमा सञ्चालित एसएसडब्लु निहोन ड्रिम सेन्टर र ग्रिन माउन्टेन एजुकेसन कन्सल्टेन्सीलाई सिल गरिएको बताउनुभयो । “अनुगमनका क्रममा दुई कन्सल्टेन्सीले नेपाल सरकारले जारी गरेको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ र प्रदेश सरकारले जारी गरेको निर्देशिका, २०७९ मा उल्लेख भएको मापदण्ड पूरा नगरेको पाइएकाले ती दुई संस्थामा सिल गरेका हौँ,” एकाइ प्रमुख दङ्गालले भन्नुभयो ।
उहाँले जिल्लामा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणका लागि शिक्षा मन्त्रालय वा प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था भए पनि अनुमतिबिना नै कन्सल्टेन्सी सञ्चालन गरेको बताउनुभयो । अनुगमनका क्रममा बनेपामा रहेका पाँच वटा कन्सल्टेन्सी बन्द गरेर भागेको उहाँले बताउनुभयो । एकाइ प्रमुख दङ्गालले अनुगमन टोली गएपछि आइइएलटिएस घर बनेपा, सुपर लाइफ एजुकेसनल कन्सल्टेन्सी, माभेन कन्सल्टिङ ग्रुप, बज्यु इन्टरनेसनल एकेडेमी र सार्प एजुकेसन बनेपा बन्द गरिएको बताउनुभयो ।
बन्द गरिएका कन्सल्टेन्सीमा पुग्दा केही कन्सटेन्सीका बोर्ड झिकेर राखिएको, केहीका बोर्ड उल्टो बनाएर राखिएको पाइएको तथा सम्बन्धित कन्सल्टेन्सीका प्रतिनिधिलाई सम्पर्क गर्दा फोन बन्द रहेको र केहीले कामको सिलसिलामा काठमाडौँ भएको प्रतिक्रिया दिएका थिए ।
अनुगमनमा बनेपामा छ वटा कन्सल्टेन्सी नियमसङ्गत ढङ्गले सञ्चालनमा रहेको पाइएको एकाइ प्रमुख दङ्गालले बताउनुभयो । उहाँले जिल्लामा रहेका सबै कन्सल्टेन्सीको अनुगमन गरिने बताउँदै नियमसङ्गत सञ्चालन नभएका कम्पनी कानुनको दायरामा आउनैपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय जिल्लामा रहेका कन्सल्टेन्सी अवैध रूपमा सञ्चालन भएको, विद्यार्थीसँग अनावश्यक शुल्क लिएको भन्दै उजुरी परेको बताउनुभयो । उहाँले उजुरीका आधारमा जिल्लामा रहेका कन्सल्टेन्सी अनुगमन गरिएको बताउनुभयो ।
यसअघि भदौ १९ गते बनेपामा सञ्चालित १५ वटा कन्सटेन्सीको अनुगमन गरिएको थियो । उक्त समयमा अनुगमन गर्ने क्रममा पाँच वटा कन्सल्टेन्सी मात्रै कानुन अनुसार सञ्चालन भएको पाइएको थियो । सो समयमा मापदण्ड पूरा नगरेका कन्सल्टेन्सीले मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म पनि मापदण्ड पूरा नगरेको पाइएको हो ।
काभ्रेपलाञ्चोकमा ८० भन्दा धेरै कन्सल्टेन्सी सञ्चालनमा छन् । जिल्लाका बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतको स्थानमा सञ्चालित अधिकांश कन्सल्टेन्सी काठमाडौँमा मुख्य कार्यालय रहेका कन्सल्टेन्सीको शाखा रहेको पाइएको छ ।