टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), चैत २८ गते । गुल्मीको मुसिकोट नगरपालिकाका ३७९ जनाको एआई प्रविधीबाट निःशुल्क क्षयरोग स्क्रिनिङ्ग गरिएको छ । क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत एआईबाट निःशुल्क क्षयरोग स्क्रिनिङ्ग गरिएको हो । तीन स्वास्थ्य संस्थामा गरिएको स्क्रिनिङ्गको क्रममा ९५ जना संभावित र १२ जना क्षयरोगी पत्ता लागेका छन् ।
सम्भावित ९५ जनामध्ये ६१ जनालाई जेनस्पर्ट विधीद्वारा खकार जाँच गर्न गुल्मी अस्पताल पठाइएको मुसिकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत पुस्कर गौतमले जानकारी दिनुभयो । मुसिकोट नगरपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्र, वडा नं ८ को आधारभूत स्वास्थ्य केन्द्र र वडा नं ५ को आँपचौर स्वास्थ्यचौकीमा एआई प्रविधीबाट निःशुल्क क्षयरोग स्क्रिनिङ्ग गरिएको थियो ।
मुसिकोट नगरपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा १४६ जनाको क्षयरोग स्क्रिनिङ्ग गरिएको थियो । जसमा सम्भावित ३२ जना क्षयरोगका बिरामीहरु भेटिएका थिए । वडा नं ८ को आधारभूत स्वास्थ्य केन्द्रमा ११८ जनाको क्षयरोग स्क्रिनिङ्ग गरिएको थियो । जसमध्ये ३९ जना सम्भावित क्षयरोगमा बिरामी भेटिए । त्यस्तै आँपचौर स्वास्थ्यचौकीमा ११५ जना जाँच गरिएकामध्ये क्षयरोगका संभावित बिरामी २४ जना रहेको स्वास्थ्य अधिकृत गौतमले बताउनुभयो । तीन स्वास्थ्य संस्थाको विवरण अनुसार १२ जनालाई क्षयरोगको औषधी सुरु गरिएको छ ।
गौतमका अनुसार केहिदिनमा तम्घास अस्पताल र वामीटक्सार स्वास्थ्यचौकीबाट खकार परीक्षणको नतिजा आउनेछ । प्रदेश स्वास्थ्य निर्देशनालयबाट डा. समिर मैनालीको नेतृत्वमा डाक्टर अमुल्य पाठक, रेडियोग्राफर मोहम्मद आसिर खानले क्षयरोग स्क्रिनिङ्ग गर्नुभएको थियो । गत वर्ष पौदी, वडागाउँ, कुर्घा र वामीका चार स्वास्थ्य संस्थाबाट ८३३ जनाको एआई प्रविधीबाट निःशुल्क क्षयरोग स्क्रिनिङ्ग गरिएको थियो ।
मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले अभियान सञ्चालनमा सरकारको तर्फबाट थुप्रै लगानी भएकाले नागरिकले बढी अवसर प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । गाउँमै हुने परीक्षणले यात्रा र खर्चको झञ्झट कम गर्ने भएकाले पायक पर्ने स्वास्थ्य सस्थाबाट सेवा लिन आग्रह गर्नुभयो ।
मुसिकोट नगरपालिकाका नगर प्रमुख जीवन खरेल ‘जीवन’ले पहुँच र चेतनाका कारण गाउँमै रोग लुकाएर बस्दा जीवननै बर्बाद हुन नहुने तर्फ आफुहरु सचेत भएकाले हरेक वडाहरुमा बर्सेनी निःशुल्क क्षयरोग स्क्रिनिङ्ग गरिरहेको बताउनुभयो । उहाँले सबैभन्दा ठुलो कुरा स्वास्थ्य र जीवन भएकाले आर्थिक अभाव वा अरु कुनै कारण रोग पालेर घरमा नबस्न नगरबासीलाई अनुरोध गर्नुभयो ।