• २३ चैत २०८२, सोमबार

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबिच कूटनीतिक संवाद

blog

तेहरान, चैत २३ गते । इरान का विदेशमन्त्री सेयद अब्बास अराघचीले जारी क्षेत्रीय द्वन्द्वका विषयमा रुस र भारत का विदेशमन्त्रीसँग टेलिफोनमार्फत छुट्टाछुट्टै छलफल गर्नुभएको छ । इरानको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरण अनुसार उहाँले सेर्गेई लावरोभ र सुब्रमण्यम जयशंकर सँग पश्चिम एसियामा भइरहेको पछिल्लो अवस्थाबारे तथा संयुक्त राज्य अमेरिका र इजरायलका आक्रमणका कारण उत्पन्न सुरक्षा र आर्थिक प्रभावबारे विचार आदानप्रदान गर्नु भएको हो ।

अराघचीले पछिल्ला ३७ दिनमा अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणबारे विस्तृत जानकारी दिँदै औद्योगिक संरचना, उत्पादन केन्द्र, अस्पताल, विद्यालय, आवासीय क्षेत्र तथा आणविक केन्द्रमा भएको क्षतिबारे चर्चा गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्र सुरक्षा परिषदका प्रभावशाली सदस्यलाई अन्तर्राष्ट्रिय कानुन अनुसार जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले इरानी जनता र सुरक्षा बल आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न दृढ रहेको उल्लेख गर्दै अमेरिका र इजरायलका कदमले क्षेत्रीय तथा विश्व स्थिरतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिनुभएको छ । यसैबिच, लावरोभले नागरिक लक्षित आक्रमण, विशेष गरी बुशेहर आणविक विद्युत् केन्द्रमा गरिएका हमला तत्काल रोक्नुपर्नेमा जोड दिनुभयो र द्वन्द्व विस्तार हुन नदिन सबै अवसरको उपयोग गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, जयशङ्करले क्षेत्रीय स्थिरता र सुरक्षालाई पुनःस्थापित गर्न कूटनीतिक प्रयासको महत्व औंल्याउँदै युद्ध रोक्न भइरहेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पहलप्रति भारतको समर्थन रहेको बताउनुभएको छ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त आक्रमण सुरु भएपछि क्षेत्रीय तनाव बढेको हो, जसको प्रत्युत्तरमा इरान र उसका सहयोगीले मध्यपूर्व क्षेत्रमा अमेरिकी र इजरायली हितलाई लक्षित गर्दै आक्रमण गरेका छन् । रासस/सिन्ह्वा