• २२ चैत २०८२, आइतबार

सामुदायिक वनमा आगलागी

blog

शिवालय गाउँपालिका–८, चिन्तेडाँडा सामुदायिक वनमा लागेको आगो । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा
जाजरकोट, चैत २२ गते ।
यहाँका विभिन्न सामुदायिक वनमा आगलागी हुँदा करोडौँ रुपियाँ बराबरको वन सम्पत्ति नष्ट भएको छ । शिवालय गाउँपालिकाका विभिन्न सामुदायिक वनमा लागेको आगोले वनजङ्गलमा ठुलो क्षति पुगेको हो ।

शिवालय गाउँपालिका–१, २, ३, ४, ८ र ९ नम्बर वडाका विभिन्न जङ्गलमा लागेको आगोले वन क्षेत्र नष्ट गरेको छ । सरोकारवाला निकायको लापरबाहीका कारण वर्षेनि आगलागी हुने गरेको स्थानीयको गुनासो छ ।

शिवालय गाउँपालिका–१ को चुली सामुदायिक वन, वडा नं. २ को ढाँडमेला सामुदायिक वन, वडा नं. ३ को सीमा शान्ति ऐरेली सामुदायिक वन, तथा वडा नं. ८ का बस्नेउडा, लिस्पानी र चिन्तेडाँडा सामुदायिक वनमा लागेको आगोले वन विनाश भएको छ ।
सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तुलाई समेत समस्या भएको छ । समयमै आगो निभाउने प्रयास नगर्दा आगलागी झन् फैलिँदै गएको छ ।

शिवालय गाउँपालिका–३ का तिलक नेगीले खोटो सङ्कलनका क्रममा वनमा आगलागी हुने गरेको बताउनुभयो । वन उपभोक्ता समितिले जथाभावी खोटो सङ्कलनका लागि पुर्जी दिन थालेपछि समस्या बढेको उहाँको भनाइ छ ।

हरियाली वन बनाउने जिम्मेवारी लिएका उपभोक्ता समितिले खोटो सङ्कलन र काठको पुर्जी वितरणमा ध्यान दिँदै संरक्षणमा बेवास्ता गरेका कारण वनमा आगलागीको क्रम बढेको छ ।

वनमा लागेको आगो नियन्त्रणका लागि स्थानीयस्तरबाट पर्याप्त पहल नभएकाले वनभरि आगोले ढकमक्क बनाएको छ । आगो लगाएपछि छिटो घाँस पलाउँछ भन्ने स्थानीयबासीको मानसिकताले पनि आगलागी हुने गरेको बताइएको छ ।

वनमा आगलागी भएपछि वन्यजन्तुको बासस्थान नष्ट भएका छन् । आगोले वन सखाप पारेपछि वन्यजन्तु लोप हुने अवस्थामा पुगेको तिलक नेगीले बताउनुभयो ।

वनमा लागेको आगोले भूक्षय, वर्षायाममा बाढीपहिरोको जोखिम तथा मौसममा प्रतिकूल असर पारेको छ । आगलागी नियन्त्रणका लागि डिभिजन वन कार्यालय, सब–डिभिजन वन कार्यालय तथा उपभोक्ता समितिको लापरबाहीका कारण आगलागीका घटना बढ्दै गएका छन् ।

वन उपभोग गर्ने समुदायका सर्वसाधारणबाटै आगो लगाउने गरिएको बताइए पनि सम्बन्धित निकायले आगलागी गर्ने व्यक्तिको पहिचान गर्न नसक्दा हरियाली वन कालो बन्न पुगेको छ ।